इटहरी :संघीय समाजबादी फोरम नेपालका अध्यक्ष एवं सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादवले संविधान संशोधन नभए देश द्वन्दको बाटोमा मोडिने बताएका छन् ।

फोरम नेपाल इटहरीको बुधबार दोस्रो नगर अधिबेशन उद्घाटन गर्दै मन्त्री यादवले यस्तो बताएका हुन् । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री यादवले संविधान संशोधन नभए देशमा द्वन्द्धको अवस्था सृर्जना हुने उल्लेख गर्दै भने,‘उत्पीडनमा परेकाहरुलाई न्या र समानताको लागि संविधान संशोधन गरेर देश अगाडि बढे मात्र शान्ति रहन्छ, नभए देश द्वन्दको बाटोमा मोडिने निश्चित छ ।’

देशमा अहिले संविधान संशोधन नभएकाले अशान्ति रहेको बताउँदै उनले देशमा दीगो शान्ति स्थापना गर्नका निम्ति संविधान संशोधन आवश्यक रहेको बताए । जातीय, भाषिक, धार्मिक, सांस्कृतिक जस्ता महत्वपूर्ण कुरालाई आत्मसात गरेर संविधान संशोधन गर्नेसमेत यादको भनाई थियो । मन्त्री यादवले प्रदेश सरकार अधिकार सम्पन्न नरहेको बताउँदै प्रदेश सरकारलाई अधिकार सम्पन्न बनाउन आँफूहरु लागि परिरहेको पनि बताए ।

सरकारको उपप्रधानमन्त्रीसमेत रहेका यादवले सरकारले अपेक्षा अनुसार काम गर्न नसकेको स्वीकारोक्तीसमेत व्यक्त गरेका थिए । उनले भने,‘वर्तमान सरकारले अहिले जुन रुपमा काम गर्नुपर्नेथ्यो, त्यो गरेको छैन, काम गर्न खोजिरहेको छ ।’ फोरम नेपाल इटहरीका अध्यक्ष डिल्ली सुब्बाले पार्टीको दोस्रो एकता महाधिवेशनको तयारीको सेरोफेरोमा उक्त कार्यक्रमको आयोजना गरिएको जानकारी दिए । उनका अनुसार चैत १९ गतेबाट सुरु भएको कार्यक्रम २१ गते समापन हुनेछ । मंगलबार इटहरीको रेयुकाई चौतारीमा रक्तदान कार्यक्रम भएको थियो भने आज अधिवेशनको उद्घाटन भएको थियो । भोली बिहिबार बन्दसत्रबाट नयाँ नेतृत्व चयनसहित अधिवेशनको समापन हुनेछ ।