झापा: सिचाई गर्न खेतमा नहरको पानी पुग्नै पर्छ वा कहिले आकाशबाट पानी पर्ला भनेर कुर्ने दिन अब गएका छन् । जहाँ ईच्छा त्यहाँ उपाय भन्ने युक्ति वास्तविकतामा परिणत गरिदिएका छन,झापा गौरीगञ्जका कृषकहरुले । अब सोलारबाट पनि सिचाई गर्न सकिन्छ भन्ने कुराको पुष्टि झापा गौरीगञ्जका किसानहरुले गरेका छन् ।

झापाको गौरीगन्ज गाउँपालिका वडा नं १ मा टुनु बस्ती छ । यहाँ कन्काई सिचाँई परियोजनाको नहर छ तर पानी छैन । नहरमा समयमा पानी नआउँदा अनि आकाशबाट हुने वर्षात समेत समयमा नहुँदा यस क्षेत्रका नागरिकले खेत बाँझै राख्ने समस्या झेल्दै आएको स्थानीय कृषक टिका बजगाई बताउँछन् । अहिले पनि नहरमा पानी छैन । आकाशबाट समेत वर्षात भएको छैन । तर खेतमा पानी छेलोखेलो छ । खेतमा गरिएको यो सिचाई बिद्युतको प्रयोग गरेर मोटरबाट निकालिएको पनि हैन । यो पानी पाँचवटा सोलारका पाता राखेर सौर्य शक्तिको सहयोगबाट निकालिएको हो ।

यो ठाउँमै पहिलो पटक सोलारबाट सिँचाई गर्न थालिएको हो । यहाँका किसानहरुका लागी यो नौलो अभ्यास हो । यो अभ्यासको कमाल देखेर अव यहाँका किसानले सामुहिक रुपमा लगानी गरेरै भए पनि टोल टोलमा सोलारबाट सिचाई गर्ने व्यवस्था गर्ने अर्की स्थानीय कृषक सीता अधिकारी बताउँछिन् । सोलारबाट पानी तान्ने यो प्रविधि बैकल्पिक सौर्य उर्जा प्रवर्धन केन्द्रको अनुदानमा राखिएको छ । ७ लाख ५० हजार रुपैँया पर्ने २ हर्ष पावरको यो यन्त्रमा किसानको लगानी ५० हजार र बाँकी सबै अनुदानमा प्राप्त भएको हो ।

यसरी सोलारबाट सिचाईन गर्न पाएपछि किसानहरु पनि मख्ख परेका छन् । गौरीगञ्जकी कल्पना खड्का भन्छिन्,“अब आकाशबाट कहिले पानी आउला र खेती गरौंला भन्ने हाम्रा दिन गए । ईच्छा भए गर्न नसकिने केही रहेनछ ।” अहिले पनि झापामा सिचाईको अभावका कारण हजारौ बिगाहा जमिन बाँझै रहेको छ । यदि यो प्रविधि प्रयोगमा सबै किसानलाई पुर्याउने हो भने झापा नामको मात्र हैन कामकै रुपमा पनि अन्नको भण्डार हुने निश्चित छ ।