इटहरी: नेपाली कांग्रेसका उपसभापति तथा पूर्व उपप्रधानमन्त्री विजय गच्छदारले नेपाली कांग्रेसले प्रचार प्रसारमा ध्यान नपुर्याएको बताएका छन् ।

सुनसरीको इटहरीमा शुक्रबार प्रेस युनियन सुनसरी र नेपाली कांग्रेसबीच सहकार्य तथा आगामी कार्यदिशा बिषयक अन्तरक्रिया कार्यक्रममा बोल्दै गच्छदारले कांग्रेसले प्रचारमा ध्यान नदिदा हार ब्यहोरेको बताएका हुन् । ‘कांग्रेसले प्रचार प्रसारमा ध्यान नपुर्याउदा चुनावमा हार ब्यहोर्नुपरेको म स्वीकार गर्छु,’प्रेस युनियन सुनसरीले आयोजना गरेको कार्यक्रममा उनले भने,‘कांग्रेस अहिले अफ्ठ्यारो परिस्थितिबाट गुज्रिरहेको छ, यो अवस्थामा प्रेस युनियनले यो महत्वपूर्ण कार्यक्रमको आयोजना गर्नु सकारात्मक हो ।’

आफ्नै पालामा राष्ट्रिय सञ्चार नीति लागु भएको र सञ्चार जगतलाई राज्यको चौथो अंगका रुपमा मान्यता दिलाएको स्मरण गर्दै उनले प्रजातन्त्र रक्षाका लागि पत्रकारको कलम निष्पक्ष रुपमा चल्नुपर्ने बताए । गच्छदारले भने, ‘मैले पत्रकारितालाई राम्ररी नियालेको छु, नयाँ पुस्ताको मनोबिज्ञान बुझेर काम गर्ने गरेको छु, उनीहरुको क्षमता, योग्यतालाई पनि आत्मसाथ गरेको छु ।’ उनले कांग्रेस र पत्रकारको सहकार्यका निम्ति प्रेसको महत्वलाई बुझाउनुपर्ने बताउँदै असल कार्यकर्ता बन्न जनताको दुःखमा मल्हम पट्टी लगाउनुपर्ने समेत दाबी गरे । ‘हाम्रो पिढीँका नेताहरु योग्य रहेका छन्,’ उनले भने, ‘समृद्धिको लागि काम गर्नका निम्ति धेरै उतारचढाबहरु आईरहन्छन्, तिनलाई सामना गर्नुपर्छ ।’

20190405_141309

कार्यक्रममा प्रदेश १ का संसदीय दलका नेता तथा नेपाली कांग्रेस सुनसरी सभापति राजीब कोईरालाले पत्रकारको क्षमता अभिबृद्धि तथा पेशागत पत्रकारिता गर्नेमा समस्या रहेको बताउँदै पत्रकार आफैँमा द्धिविधा र द्वन्द रहेको बताए । उनले भने,‘पद्धतिको कुरालाई आत्मसात गर्नुपर्छ, पार्टीले मिडिया त सधैँ खोजिरहेकै छ ।’ कार्यक्रममा संघीय सांसद सिताराम मेहेताले पार्टीसँग पत्रकारले समन्वय गरी आगामी कार्यदिशालाई अगाडि बढाउनुपर्ने उल्लेख गरे । ‘उर्जालाई शक्तिमा बदल्नुपर्ने आजको आवश्यकता हो,’उनले भने ।

कांग्रेस इटहरी नगर सभापति हेमकर्ण पौडेलले जीवन हत्केलामा राखेर लोकतन्त्रको बिषयमा वकालत गर्ने नेता कांग्रेसमा रहेको भएपनि आँफूहरु जनतालाई सुख बाढ्न हिडिरहेको बेला वर्तमान सरकारले घाँटी निमोठ्ने काम गरेको उनको आरोप थियो । ‘अधिनायकवादी सरकारले जनताको घाँटी निमोठ्ने काम गरिरहेको छ,’उनले भने,‘राम्रो काम जनताको माझमा नुपु¥याउनु कांग्रेसको गम्भीर त्रुटी हो, अब सच्चिएर अगाडि बढ्नु आबश्यक छ ।’ उनले विकासानन्दको भनाई उदृत गर्दै संसार बदल्न आफैँबाट सुरुवात गर्नुपर्ने बताए । कार्यक्रममा प्रेस युनियन सुनसरीका संस्थापक गिरिराज आचार्यले प्रजातन्त्र बचाउँनका निम्ति पहिला कांग्रेस बचाउनुपर्ने तर्क गरे । उनले भने, ‘वीपीको सपना साकार पार्नका निम्ति मैले पत्रकारीता गरेको हु, प्रेस युनियन अहिले भूमिकाविहिन छ, सच्चिन आग्रह गर्दछु ।’ उनले आँफूले २०४८ जेष्ठ १३ गते धरानको पब्लिक हाई स्कूलमा एक कार्यक्रमको उद्धघाटन गरी प्रेस युनियन सुनसरीको स्थापना गरेको स्मरण गराए । 

ga6dar

कार्यक्रममा प्रेस युनियन प्रदेश संयोजक लिलाबल्लभ घिमिरेले कांग्रेस नहिडेको र तुफानको गतिमा अगाडि बढ्नुपर्नेमा जोड दिए । ‘श्रमजीवी पत्रकारलाई समस्यै समस्या छ,’ उनले भने,‘पत्रकारहरु कार्यकर्ता भएर हैन, पत्रकार भएर हिड्नु आवश्यक छ । पत्रकारले समाचार खोज्दैन, समाचारले पत्रकार खोज्छ ।’ कार्यक्रममा पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर अड्काले अहिले पनि श्रमजीवी पत्रकारले न्यूनतम पारिश्रमिक तथा नियूक्ती पत्र नपाईरहेको बताए । ‘अहिलेको पत्रकारीता सहज बन्दै गएतापनि नेपाली पत्रकारीताको निष्ठा जोगाउन चुनौती छ,’ उनले भने ।

कार्यक्रममा प्रेस युनियन सुनसरीका पूर्व अध्यक्ष चेतन धमलाले आधार पत्र प्रस्तूत गर्दै मिडिया चलाउने मानिस निरुत्साहित बन्दै गएकोप्रति आपत्ती जनाए । उनले भने, ‘मिडियामा काम गर्नेले पारिश्रमीक नपाएका कारण मिडिया खोल्न बाध्य र त्यसबाट पनि जीवीकोपार्जन नहुनुले मिडियाकर्मीहरु निरुत्साहित छन् ।’ कांग्रेस र पत्रकार बीच पारस्परिक सहकार्य र सृजनशील सहयोग हुनुपर्ने बताए । आधार पत्रमाथि बिश्लेषण गर्दै प्रेस युनियन केन्द्रीय पार्षद सचिन पोखरेलले समन्वयको अभावले मिडियाकर्मी निरुत्साहित हुन बाध्य रहेको बताए । ‘देशका तिनै तहले सहकार्य र समन्वय गर्नु आवश्यक छ,’ उनले भने, ‘उत्साह जगाउनका निम्ति औपचारिकतामा मात्रै सीमित नहोस् ।’ प्रेस युनियन सुनसरीका अध्यक्ष धनबहादुर पुरीले समाचार लेखेर जीवीकोपार्जन गर्न कठीन रहेको भएकाले कांग्रेस र युनियनबीच सहकार्य हुनुपर्नेमा जोड दिए ।