झापा : सरकारले नेत्र बिक्रम चन्द(विप्लव) नेतृत्वको नेकपाका गतिबिधिलाई प्रतिबन्ध लगाएको छ । विप्लव समूहले भने चैतसम्ममा प्रतिबन्ध हटाउन सरकारलाई अल्टिमेटम दिएको छ ।

दुई पक्षको जुहारी चलिरहँदा नागरिकस्तरमा भने त्रास उत्पन्न भएको बिश्लेषण हुन थालेको छ । देश फेरि कतै गृहयुद्धतर्फ त धकेलिने होइन भन्ने आशंका सर्बसाधारणमा उत्पन्न हुनथालेको छ । बिप्लबसँग भएको भनिएको हतियार, सैन्य शक्ति र राज्यले उनको पार्टीप्रति अपनाएको बाटोले कतै मुलुक पुनः द्वन्दमा जादैन भन्ने चिन्ता नागरिकमा छ । बिप्लव सङ्ग भएको बर्तमान शक्तिले ठुलो चुनौती नदिए पनि कालान्तरमा देशको शान्ति सुरक्षामा खतरा पैदा गर्न सक्ने आंकलन धेरैले गरिरहेका छन् । आजको दिनमा कुनै सामान्य भएपनि हिंसात्मक घटना भयो भने पनि त्यसको मुल्य सिङ्गो देशले नै चुकाउनु पर्छ ।

सवाल यो हैन कि उनीहरु ठिक कि बेठिक । सवाल यो पनि हैन कि उनीहरुले जित्ने ताकत राख्छन् कि राख्दैनन् ? सवाल त यो हो कि हामी कतै फेरि गृह युद्धमा त फस्दै छैनौ ? त्यसैले त नागरिकहरु बिप्लवलाई हिंसात्मक गतिविधि छाडेर मुलधारको राजनीतिमा आउन आग्रह गरिरहेका छन् । झापा दमकका दिपक खनाल यस्तो अवस्थाले नागरिकलाई फेरि त्रासमा परेको बताउँछन् ।

यसअघि पनि देश १० बर्षे युद्धको चपेटामा पर्यो । त्यसबेला राज्यले प्रतिबन्ध मात्र होइन, टाउकाकै मोलसमेत तोकिएको थियो । तर अन्ततः समाधान भने वार्ताबाटै भयो र देशमा शान्ति पुनर्स्थापना भएको थियो । अहिले जुन बिषयमा हामी केन्द्रित भईरहेका छौं । यो पनि अन्ततः वार्ताबाटै समाधान खोज्न सकिने स्पष्टै छ । किन आफ्नै देशभित्र फेरि रडाको मच्चाउने भन्ने बहस सर्वसाधारणहरुमा चलिरहेको छ । नागरिकहरु सरकार र बिप्लब दुबैले लचकता अपनाएर वार्ताको टेवलमा बस्नुपर्ने सुझाव दिन थालेका छन् । उर्लाबारीका तेजेन्द्र भट्टराई सरकारले हतारमा प्रतिबन्धको घोषणा गरेर बिप्लबलाई झन् आक्रामक बनाउन बाध्य पारेको हो कि भनेर शंका गर्छन् ।

बिगतका युद्धको घाउ पुर्णरुपमा निको भईसकेको छैन । नागरिकहरुले एक दशकपछि शान्तिको सास फेरिरहेका थिए । अहिले फेरि अशान्ति, बम बारुद, ग्रिनेट ...यस्ता बस्तु देख्न, भोग्न र सुन्न नपरोस् भन्ने चाहाना सबैको हो । बिगतका घटना र गल्तीबाट पाठ सिक्न आवश्यक भएको झापा दमकका प्रदिप तामाङ्गको धारणा छ । राज्यले त्यसको सही ढंगले निकाश खोज्नुपर्छ । प्रतिबन्ध मात्र हैन, सरकारले बिप्लबलाई वार्ताको ढोका पनि खुल्लै रहेको बताएको छ । यो अवस्थामा साच्चै नै नागरिकको मन जित्ने हो भने सरकार र बिप्लब दुबैका लागि परीक्षाको घडी आएको छ, र त्यो परीक्षामा दुबै पक्ष सफल भएको हेर्न चाहन्छन् नागरिकहरु ।

बिश्लेषकको नजरमा के त ?

हुन त अहिले चिया पसलदेखि सिंहदरबारसम्म बहसको बिषय बनेको छ बिप्लब समूह र उसले गर्दै आएका गतिबिधि । सरकारले लगाएको प्रतिबन्धमाथि पनि निक्कै बहस भयो । देश कतै गृहयुद्धमा त फस्ने हैन भन्ने संका उब्जिरहेको अवस्थामा देश अहिले नै त्यो दिश तर्फ तत्काल नजाने राजनीतिक बिश्लेषक बद्रिबिशाल पोखरेलको बिश्लेषण छ ।

यस्तै बामपन्थी विश्लेषक तथा नर्थ साउथ कलेक्टिभ्स्का संस्थापक सल्लाहकार दिनेश श्रेष्ठले विप्लव नेतृत्वको नेकपाले तत्कालै हिंसात्मक आन्दोलन गर्न नसक्ने बताउँछन् । तत्कालै हिंसाको साहारामा कुनै आन्दोलन गर्ने अवस्था अहिले नभएको र विप्लवलाई अहिलेनै सामान्य चन्दा आतंक सिर्जना गरेको आधारमै प्रतिबन्ध लगाउनै पर्ने अवस्था पनि नदेखिएको उनको ठम्याई छ ।