धरान:आज दिउँसो धरान १३, जिरोपोइन्टमा भएको भयानक बस दुर्घटनाप्रति दुःख व्यक्त गर्दै यस्ता घटना हुन नदिन आवश्यक जाँचबुझ तथा छानबिन गर्न नेपाली कांग्रेस सुनसरीले माग गरेको छ ।

कांग्रेसका जिल्ला सचिव एवं प्रवक्ता सुजेन्द्र गोले तामाङले विज्ञप्ती जारी गर्दै दुर्घटनाप्रति गहिरो दुःख व्यक्त गरेका छन् । विज्ञप्तीमा दुर्घटनामा मृत्यु भएकाप्रति भावपूर्ण श्रद्वान्जली तथा घाईते सबैप्रति शिघ्र स्वास्थ्य लाभको कामना पनि गरिएको छ । साथै, घाइतेको उपचारमा गम्भीर हुन पनि सम्बन्धित निकायलाई कांग्रेसले आग्रह गरेको छ । साथै भविष्यमा यस्ता दुर्घटनालाई कम गर्न घटनाको जाँचबुझ तथा छानबिन गर्न पनि माग गरेको छ ।

सवारीसाधानको लाइसेन्स एवं कागजात मात्र नहेरी सवारी साधनको अवस्थाबारे पनि नियमित चेकजाँच गर्ने व्यवस्था मिलाउन कांग्रेस सुनसरीले सम्बन्धित निकायलाई आग्रह गरेको छ । 'हवाई दुर्घटनको जाँच हुन्छ, त्यस्तै सार्वजनिक यातायातको दुर्घटना किन भइरहेको छ ? भनेर पनि जाँच हुनुपर्छ,'कांग्रेस सुनसरीका सचिव एवं प्रवक्ता तामाङले भने,'सवारीसाधानको कागजात मात्र हेरिन्छ । गाडीको अवस्था कस्तो छ भनेर चेकजाँच गरिदैन । ब्रेक ठिक छ कि छैन, स्टेरिङको अवस्था कस्तो छ भनेर पनि जाँच हुनुपर्छ । दुर्घटना न्युनीकरण गर्न सम्बन्धित निकायले पनि यसतर्फ ध्यान दिनुपर्छ ।'