काँकडभिट्टा : झापाको मेचीनगर नगरपालिका क्षेत्रभित्र स्थानान्तरणको अनुमति नै नलिई केही विद्यालयहरु सञ्चालनमा आएको पाइएको छ ।

मेचीनगर नगरपालिका ४ स्थित बालजगत इङ्लिस स्कुलले ३ नम्बर वडाबाट सञ्चालनमा ल्याएको छ । एउटा वडादेखि अर्को वडामा सार्दा स्थानान्तरणको कागजात बनाएर मात्रै सार्ने प्रावधान भए पनि उक्त स्कुलले प्रक्रिया पूरा नगरेको पाइएको हो । स्कुल सार्दा सामुदायिक विद्यालय र संस्थागत निजी विद्यालयहरुको सहमति–पत्र पेश गरिसकेपछि मात्र वडाले सहमति दिनसक्ने कानूनी प्रावधान छ ।त्यस्तै विर्तामोड नगरपालिकाबाट बसाइ सराई सहमति–पत्र लिएर आएको एमइटी पब्लिक इङ्लिस स्कुललाई मेचीनगर वडानम्बर ६ मा सञ्चालन गर्न नगरपालिकाले अनुमति दिएको छैन । तर पनि विद्यालयका सञ्चालकहरुले न्यूनतम् कानुनी प्रक्रिया पूरा नगरी नै विद्यालय सञ्चालनमा ल्याएका छन् । अहिले भर्ना अभियान थालिएको छ । –ब्लाष्ट टाइम्स दैनिक