इटहरी : नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोईरालाले राष्ट्रियता कमजोर भएको बताएका छन् ।

जीपी फाउण्डेसन सुनसरीको पदस्थापन कार्यक्रम इटहरीमा बोल्दै कोईरालाले देशको राष्ट्रियता कमजोर भएको बताउँदै भने, “आज पनि सिके राउतले जनमतसंग्रह नछाडेको अवस्था छ, प्रजातन्त्र खतरामा छ ।” उनले कम्युनिष्ट सरकारले प्रेस स्वतन्त्रतालाई अंकुश लगाउन खोजेको बताए । सरकार हेर्दा बलियो देखिएपनि धर्मराएको छ, न्यायपालिका सरकारको कब्जामा छ । सरकार स्थिर छ, तर राजनीतिक अस्थिरता बढेको छ । उनले राष्ट्रपति प्रकरण र वाइडबडी प्रकरणबारे बोल्दै भने डेढ अर्ब पैसाले देशमा कतिवटा अस्पताल बन्थ्यो ? कतिवटा सामूदायिक विद्यालय बन्थ्यो ? मुलुकमा भ्रष्टाचार बढिरहेको बताउँदै डा. कोईरालाले मुलुकमा कम्युनिष्टहरुले संघीयता नचाहने आरोप लगाए । भ्रष्टाचारले मुलुक समृद्ध नहुने बताउँदै उनले यसको न्यूनिकरणका निम्ति लाग्नुपर्नेमा जोड दिए । उनले पार्टीको पछिल्लो अवस्थाबारे जानकारी गराउँदै कांग्रेस पार्टी गुट उपगुटले चलेको बताए ।
उनले भने, “गुट उपगुटको राजनीतिले तपाईहरुलाई मात्रै हैन, हामीलाई पनि दिक्क लगाइसक्यो ।” राजनीति गर्न संस्कार र नैतिकता चाहिने बताउँदै उनले भने, “राजनीति गर्ने व्यक्तिमा संस्कार चाहिन्छ, संस्कार भएन भने राजनीति नगर्नुहोस् ।” नेपाली कांग्रेस पछिल्लो समय गिरोहले चलेको उल्लेख गर्दै कोईरालाले अधिक समय पार्टी सभापति शेरबहादुर देउवाको आलोचना गरेका थिए । पार्टी सभापतिले कांग्रेसको अधिबेशन नै गर्दिन भन्नुहुन्छ, अधिबेशन भएन भने कांग्रेस झन् कमजोर हुन्छ, उनले भने ।
कार्यक्रममा पूर्व अर्थमन्त्री डा. रामशरण महतले वर्तमान सरकारले आर्थिक विकासको काम भएको बताएपनि झुठो चर्चा मात्रै गरेको आरोप लगाए । उनले भने, “सरकारमुखी अर्थव्यवस्थाले यहाँ देश अगाडि नबढ्ने रहेछ । हाम्रो नीतिको आलोचना गर्नेहरु अहिले त्यसकै पछि लागेका छन् ।” आँफूहरुले गरेको कामलाई कम्युनिष्ट सरकारले आफूँले गरेको भन्दै प्रचार गर्ने गरेको प्रति आपत्ती जनाउँदै उनले भने, “हाम्रो ब्यवस्थापन र संगठन भित्र कमजोरी छ । हामीले गरेको कामको प्रचार गर्दैनौँ ।” आन्तरिक व्यवस्थापनको सुधार कांग्रेसमा रहेको बताउँदै उनले गुटबन्दी भन्दा माथि उठेर काम गर्नुपर्नेमा जोड दिए ।
कार्यक्रमकी प्रमुख अतिथि कांग्रेस नेतृ सुजाता कोईराला रहेकी थिईन् । कार्यक्रममा जीपी फाउण्डेसन सुनसरी सह संयोजक सूर्य राईले स्वागत मंतव्य राखेका थिए भने इटहरी उपमहानगरपालिकाका सभापति हेमकर्ण पौडेल, तरुण दल सुनसरी सभापति सिजन गुरुङ लगायतका नेताहरुले सम्बोधन गरेका थिए ।