ब्लाष्ट : आजको ब्लाष्ट टाइम्स दैनिकमा “मोनोरेलको काम धमाधम” शीर्षकको समाचार छापिएको छ । प्रदेश नम्बर १ मा विद्युतिय शहरी पारवहन मोनोरेल सञ्चालनमा आउने भएको छ । निजीस्तरबाट सञ्चालन हुन लागेको मोनोरेल विराटनगरको जोगवनीदेखी दुहवी हुँदै इटहरीको तरहरासम्म चलाइने छ । ३५ किलोमिटरको दुरी १० देखि १५ मिनेटमा यात्रा गर्न सकिने बताइएको छ । विराट मोनोरेल इन्टरनेशनल प्रालीले सञ्चालनमा ल्याउदैँ छ । राजमार्गसंगै पोल निर्माण गरी माथिबाट मोनोरेल चलाइनेछ । कमपनीका निर्देशक कोवित कार्कीले सरकारसंग सम्झौता गरी ३० वर्षसम्म निजीस्तरमा चलाइने जनाए । त्यसपछि उक्त परियोजनासमेत सबै किसिमको व्यवस्थापन सरकारलाई हस्तान्तरण गरिने छ ।

त्यसैगरी आजको ब्लाष्ट टाइम्स दैनिकमा “युरिया मलको हाहाकार” शीर्षकको अर्को समाचार पनि छापिएको छ । सरकारले पर्याप्त मात्रामा खादमल युरिया खरिद गर्न नसक्दा बजारमा युरिया मलको हाहाकार मच्चिएको छ । बजारमा मल नपाएपछि कृषकहरु चिन्तित बनेका छन् । विषेश गरेर उन्नत जातको मकैबालीका लागि चाहिने युरियाको अभाव भएपछि बालि बिग्रीने सम्भावना बढेको छ । कृषकहरुलाई यो बेलामा मकै, धान र चियाबालीका लागि मल चाहिन्छ । बजारमा मल अभाव भएपछि कृषकहरु अहिले भौतारिरहेका छन् । सरकारले मल बीउ निः शुल्क दिने कार्यक्रम ल्याउनु कता हो कता पैसा तिर्छु भन्दा पनि चाहिएको बेला मला नपाएको बेलबारीका स्थानीय कृषक श्यामलाल तामाङले बताए ।

नागरिक पूर्वेली : आजको नागरिक पूर्वेली दैनिकमा “सडक गुरुयोजना बनाउँदै प्रदेश सरकार” शीर्षकको समाचार छापिएको छ । सडक निर्माणको काम सुस्त भइरहेको बेला प्रदेश सरकारले प्रदेशका सडकलाई प्राथमिकता तोकेर निर्माण गर्ने उद्देश्यले प्रादेशिक सडक गुरुयोजना तयार पार्न थालेको छ । स्विस सरकारको सहयोगमा प्रादेशिक सडक गुरुयोजना तयार भइरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका प्रवक्ता रेवतीरमण पराजुलीका अनुसार सडक निर्माणको कामलाई व्यवस्थित पार्न प्रादेशिक सडक गुरुयोजना निर्माण थालिएको जानकारी दिए । पराजुलीका अनुसार प्रदेशको वार्षिक कार्यक्रममा १ सय ४० सडक परेका थिए ।

औजार : आजको औजार दैनिकमा “जहाँ कक्षा–८ मात्रै पढ्छन्” शीर्षकको समाचार छापिएको छ । सुनसरी जिल्ला प्रदेश १ को सुगम जिल्लामा पर्छ । यो जिल्लामा सबै हिसाबले सेवा सुविधा र पहुँच भएको मानिन्छ । शिक्षा, स्वास्थ्य, यातायात, सञ्चार, विद्युत, खानेपानीसहितको पहुँच भएको जिल्ला हो तर यही जिल्लाको भोक्राहा नरसिंह गाउँपालिका ६ को सदा वस्तीमा कोही पनि माविस्तरको शिक्षा पाउन सकेका छैनन् । गाउँमा विद्यालय पनि नभएको होइन तर भोक्राहा नरसिंह गाउँपालिका ६ सदा वस्तीमा कोही पनि माविसम्मको शिक्षो पाउन सकेका छैनन् । भोक्राहा नरसिंह गाउँपालिकाको ८ वटा वडामध्ये शिक्षामा अगाडि नै देखिएको वडा नम्बर ६ को ५१ घरपरिवारको सदा वस्तीमा तीनपुस्ताका व्यक्तिहरु छन् तर कोही पनि मावि शिक्षा पाउन सकेका छैनन् । सदा वस्तीका सबै परिवार सुकुम्बासी भएको र अर्कोतिर दलित समुदायका भएकाले दिनरात हातमुख जोड्न नै समस्या भएकाले छोराछोरीलाई पढाउन नसकिएको भोक्राहा नरसिंह गाउँपालिका वाड नम्बर ६ नरसिंह सदा वस्तीका रामचन्द्र सदाले बताए ।