इटहरी : अपाङ्गमैत्री भवन एवं संरचनाहरु नहुदा नगर र वडाको पहुँचसम्म पुग्न नसकिएको अपांगहरुले गुनासो गरेका छन् ।

अपाङ्गहरुको हकहितका अगुवा दिलकुमारी राईले अपाङ्गमैत्री वडा कार्यालय, नगरपालिका, सार्वजनिक शौचालय, विद्यालय तथा अन्य सार्वजनिक भवनहरुको नहुदा पहुँचभन्दा टाढा हुनुपरेको बताउछिन् । ‘अरु कुरा त छाडौं हामीलाई इटहरी २० को वडा कार्यालयको भवन जान पनि सकस पर्छ,’नेपाल चेलीबेटी महिला अपाङ्ग संघकी पूर्व अध्यक्ष उनले भनिन्,‘भवनमा जानका लागि भ¥याङ चढ्नुपर्छ, हामी ह्विलचियरमा हिड्नेहरुलाई त्यसरी जान सम्भवै छैन । हामी वडाको पहुँचसम्म पुग्न सकेका छैनौ ।’

भौतिक संरचनाको कुरामा पनि राज्यको ध्यान नगएकोप्रति उनको आक्रोश थियो । ‘अपाङ्गमैत्री सार्वजनिक भवन छैनन्, हामीलाई ज्यादै गाह्रो छ,’उनले भनिन् । अपाङ्गता भएका ब्यक्तिहरुको संगठन (डिपिए)लाई स्थानीय सरकारले छुट्याएको बजेट वडाको मातहतमा चल्नुपर्दा दुःख लागेको उनले बताइन् । ‘हामीले अब हाम्रो संस्थाको ढोकामा ताल्चा लगाउँदा पनि हुन्छ होला,’ उनले भनिन्,‘अपाङ्गता भएका ब्यक्तिको शीर्षकमा आएको बजेट वडाको मातहतमा कार्यक्रम गर्नु परेको छ, हामीलाई छुट्याएको बजेट पनि हामीले नपाउनु दुःखद् छ ।’

सुनसरी जिल्लामा मात्रै ११ हजार ५ सय ९३ जना अपाङ्गता भएका मानिसहरु बसोबास गर्दै आएका छन् । उनीहरु राज्यको पहुँचसम्म नपुग्नाले अनेकौँ समस्या खेप्नुपरेको राई बताउँछिन् । ‘राज्यबाट अपाङ्ग भएका मानिसहरुलाई शिक्षा, स्वास्थ्य, रोजगार दिनु आवश्यक छ । एउटा निर्धारित कोटा दिएर रोजगार दिनु आवश्यक देखिन्छ । क्षमता अभिबृद्धि तालिम जस्ता महत्वपूर्ण काम गर्नुपर्ने देखिन्छ,’उनले भनिन् ।

इटहरी २० का वडाध्यक्ष मणिराम श्रेष्ठले उल्टै जनप्रतिनिधिलाई पनि बस्ने ठाउँ नभएकाले पहिलेको हाँसपोसा र हुलाकको भवनमा बस्दै आएको पीडा पोखे । ‘जनप्रतिनिधि आएर पनि पहिलेको हाँसपोसामा बस्दै आएका छौँ । ठाउँ नभएको कारणले धेरै अफ्ठेरो भएको छ, अपाङ्गमैत्री भवन बनाउँने सोचमा छौँ,’उनले भने । अहिले बिहीबारे बजारमा बस्दै आएको ठाउँ पनि साँघुरो रहेकाले यसलाई फराकिलो बनाएर भवन बनाउने सोचमा रहेको उनले बताए ।

यसैबीच अपाङ्गता भएका ब्यक्ति र तिनीहरुका परिवारलाई अपाङ्गता सम्बन्धी कानुनी सचेतना कार्यक्रमको आयोजना गरिएको छ । यहाँ रहेका अपाङ्ग मानिसहरु तथा उनीहरुका परिवारलाई सचेतना कार्यक्रमको आयोजना गरिएको हो । करीब एक दर्जन बढी मानिसहरुलाई उक्त सचेतना गराइएको हो । कार्यक्रमको सहजीकरण नेपाल चेलीबेटी अपाङ्ग महिला समाजकी पूर्व अध्यक्ष दीपकला राईले गरेकी थिईन् । वडाकै नेतृत्वमा उक्त कार्यक्रम सञ्चालन गर्नुपर्ने भएकाले आफैँ उक्त कार्यक्रमको आयोजना गरिएको वडाध्यक्ष श्रेष्ठले जानकारी दिए । उक्त कार्यक्रम सञ्चालन गर्नका लागि इटहरी २० नम्बर वडा कार्यालयले २५ हजार रुपैँया बजेट बिनियोजन गरेको थियो ।