इटहरी:समाचार लेखेकै आधारमा पत्रकारहरु पक्राउ पर्न थालेपछि देशभरका पत्रकारहरु आन्दोलनमा छन् ।

पत्रकार महासंघ केन्द्रीय समितिको आह्वानमा आज देशभरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालयअघि धर्ना दिएका थिए । सोही क्रममा पत्रकार महासंघ सुनसरीले पनि आज (बिहीबार) इनरुवास्थित जिल्ला प्रशासन कार्यालय अघि एक घण्टा धर्ना दिएको थियो । बिहान साढे ९ बजेदेखि करीब १ घण्टासम्म धर्ना कार्यक्रम भएको थियो । प्रेस स्वतन्त्रताको ग्यारेण्टी गर, बिद्युतीय अपराध ऐन ४७ र ४८ खारेज गर, पत्रकारले लेख्न पाउने अधिकार सुरक्षित गर जस्ता पम्पप्लेट प्रदर्शन गरी पत्रकारहरु धर्नामा बसेका थिए ।

पत्रकार महासंघ सुनसरीका अध्यक्ष अमर खड्काले नेपालमा बिद्युतीय अपराध ऐनको धारा ४७ र ४८ बमोजीम पत्रकार समाचार लेखेकै आधार पक्राउ गरिनु खेदजनक भएको बताए । 'राज्यले आम नागरिकलाई सूचनाबाट बञ्चित गराउने काम गरेको छ,'उनले भने,'नियमनकारी निकाय हुदाहुदै पनि राज्यले बिद्युतीय कारोबारी ऐनको दफा ४७ र ४८ ल्याएर अंकुश लगाउने काम गरेको छ ।'

केही दिनअघि पोखराका पत्रकार अर्जुन गिरीलाई ठगीको समाचार लेखेकै आधारमा सिआइबीले पक्राउ गरेपछि देशभरका पत्रकारहरु आन्दोलनमा छन् । राज्यले विद्युतीय कारोबार ऐनमार्फत प्रेस स्वतन्त्रतामाथि अंकुश लगाउन खोजेको भन्दै महासंघसहित सबै पत्रकारहरु आन्दोलनमा छन् । हालसम्म बिद्युतीय अपराध ऐन ४७, ४८ बमोजीम ८४ जना पत्रकारहरु पक्राउ परिसकेका छन् ।