विराटनगर:धुधुवा पैनी अतिक्रमण गरेर बनाइएको टहरा भत्काएको भन्दै स्थानीयले विराटनगर महानगरपालिका वडा नं ६ को कार्यालयमा तालाबन्दी गरिदिएका छन् ।

स्थानीयले वडा कार्यालयमा ताला लगाएपछि आज बिहानैदेखि कार्यालयको काम प्रभावित भएको छ । सेवाग्राहीहरु मर्कामा परेका छन् । बिहान कार्यालय खुल्ने समयमा नै तालाबन्दी भएको थियो । वडा कार्यायलले बिहिबार नगर प्रहरीसहित पैनी अतिक्रमण गरी बनाइएको टहरा भत्काएको थियो । त्यसैको विरोधमा आज स्थानीयले वडा कार्यालयमा तालाबन्दी गरेका हुन् । कुनै पूर्वसुचना टहराहरु भत्काएकोले विरोधमा वडा कार्यालयमा तालबन्दी गर्नुपरेको दिनेश कामतको भनाई छ । मेयर र उपमेयर दुवै वार्तामा आएमात्र तालाबन्दी खोलिने उनले बताए ।

महानगरपालिकाले भने सार्वजनिक जग्गा भएकोले भत्काउन आदेश दिएको प्रष्ट्याएको छ । प्रमुख प्रशासकीय अधिकृत एकदेव अधिकारीले नापजाँच हुदा उक्त क्षेत्र सार्वजनिक जग्गा भएको पुष्टि भएको छ । साथै, उनले २४ घण्टे सुचना जारी गर्दा पनि अतिक्रमित टहरा नहटाए पछि भत्काइएको बताए ।