धरान: नेपाली कांग्रेसले लोकतन्त्र दिवसको अवसर पारेर बैशाख ११ गतेदेखि ७७ वटै जिल्लामा राष्ट्रिय जनजागरण अभियान सञ्चालन गर्ने निर्णय गरेसंगै सुनसरीमा पनि इटरीवाट गरिने भएको छ ।

सुनसरी पार्टी सभापति राजिव कोइरालाको अध्यक्षतामा बसेको बैठकले इटहरीवाट शुभारम्भ गर्ने निर्णय गरेको कांग्रेस सुनसरीका प्रवक्ता तथा सचिव सुजेन्द्र तामाङले जानकारी दिए । अभियानलाई पार्टीका उपसभापति तथा संसदीय दलका उपनेता विजयकुमार गच्छेदारले सम्वोधन गर्ने कार्यक्रम तय भएको पनि उनले खुलाए । कांग्रेसले तीन चरणमा जनजागरण अभियान सञ्चालन गर्दैछ । यो प्रथम चरणको अभियान जेठ ११ गतेसम्म एक महिना हुनेछ । दोश्रो चरण भदौ २४ गते वीपी जयन्तीवाट १५ दिन र तेश्रो चरण पुस ७ वाट १६ गते राष्ट्रिय मेलमिलाप दिवससम्म सञ्चालन हुनेछ । यसका लागि कांग्रेसले सबै जिल्लाहरुमा केन्द्रीय प्रतिनिधि खटाइसकेको छ ।

हिमाल, पहाड, तराई–मधेश नेपाली कांग्रेस राष्ट्रिय जनजागरण अभियान (हिपतम) को नामवाट अभियान हुन लागेको हो । अभियानका क्रममा महासमिति बैठकवाट पारित नीति, कार्यक्रम, संशोधित विधानबारे सुसुुचित गर्ने कांग्रेसले जनाएको छ । यस्तै, पार्टीमा एकता, समन्वय र हार्दिकता स्थापित गरी पार्टी सुदृढिकरणका विविध गतिविधिहरु सञ्चालन गर्ने, नेपाली कांग्रेसको नेतृत्वमा हासिल गरेको विभिन्न उपलब्धी र कामहरु जनस्तरमा पुर्याउने कांग्रेस सुनसरीले जनाएको छ ।

यसैगरि, सरकारको जनविरोधी कृयाकलापहरुको भण्डाफोर गर्ने, फरक मत र विमतिहरुलाई राष्ट्रिय एकताको सुत्रमा गाँस्ने, तीनै तहको सरकारलाई जनपक्षीय कार्य गर्न दवाव सिर्जना गर्ने, विदेशमा रहेका लाखौं नेपालीहरुको मतदान गर्न पाउने अधिकार सुनिश्चिताका लागि दवाव पैदा गर्ने, प्रेस र अभिव्यक्ति स्वतन्त्रताको रक्षाका लागि खबरदारी गर्ने लगायतका मुद्दाहरु जोडतोडले उठान गरिने प्रवक्ता तामाङले बताए । बैठकमा सुनसरी कांग्रेसका पदाधिकारी, सुनसरी जिल्लास्थित संघ तथा प्रदेशका सांसदहरु, पार्टीका क्षेत्रीय सभापति र नगर सभापतिहरु लगायतको उपस्थिति रहेको प्रवक्ता तामाङले बताए ।