विराटनगर:नेपाल सरकारको सहसचिवको जागिर छोडेका गोपाल पराजुली आज प्रदेश १ सभाको सचिवमा नियुक्त भएका छन् ।

प्रदेशका सभामुख प्रदीपकुमार भण्डारीको सिफारिसमा पराजुलीलाई प्रदेश प्रमुख डा.गोविन्द तुम्वाहाङले सचिवमा नियुक्त गरेका हुन् । पराजुलीलाई आज प्रदेशसभाको सचिवमा आज शपथ ग्रहण गराइएको थियो । उनलाई सभामुख भण्डारीले पद तथा गोपनियताको सपथ गराएका थिए । निजामति सेवाका सहसचिव पराजुली पछिल्लो समय १ नं प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयको सचिवमा कार्यरत थिए । उनले प्रदेशसभाको सचिव हुनको लागि निजामति सेवाबाट राजिनामा दिएका थिए । उनले राजिनामा दिएपछि सभामुख भण्डारीले प्रदेशसभा सचिवको लागि प्रदेश प्रमुखसमक्ष सिफारिश गरेका थिए ।

प्रदेशसभा सचिवको पदावधि ५ वर्षको व्यवस्था छ। प्रदेशसभा सचिवले प्रदेशसभा तथा सचिवालयको वार्षिक बजेट तयार गर्ने , आर्थिक, प्रशासनिक सम्वन्धि आवश्यक काम गर्नुपर्नेछ भने सचिवालय र अन्य निकायसँग आवश्यक समन्वय गर्नेलगायत काम पनि उनको हुनेछ । हुन त यो राजनीतिक नियुक्ती हो । तर, नेपाल सरकारको सचिवसरहको राजपत्रांकित बिशिष्ट श्रेणी पद हो । त्यसैले पनि पराजुलीले निजामतिको सहसचिव छोडेर प्रदेशसभाको सचिवमा नियुक्तीको लागि आएका हुन् । 'यो राजनैतिक नियुक्ती नै हो । नयाँ निर्वाचनबाट प्रदेशसभा गठन भएर नयाँ सभामुख नआएसम्म उहाँ नै रहनुहुन्छ । नयाँ सभामुख आएपछि उहाँलाई नै सचिवमा राख्न पनि सक्छ वा नराख्न पनि सक्छ,'सभामुखको सचिवालय स्रोतले भन्यो ।