धरान : थाक्थाकु मावोहाङ चेम्जोङ वंश उत्थान संघ, धरान नगर कार्यसमितिको आफ्नै भवनको बिहिबार उद्घाटन भएको छ ।

धरान १५ स्थित चेम्जोङ पथमा निर्माण सम्पन्न भएको भवनको पुर्वमन्त्री एवं संघीय समाजवादी फोरम नेपालका केन्द्रीय उपाध्यक्ष रकम चेम्जोङले उद्घाटन गरेका थिए । यो भवन ५ धुर जग्गामा २ तले बनाइएको छ । भवनको लागि ५ धुर जग्गा बसन्त चेम्जोङ(चौबिसे ढाका टोपीका सञ्चालक)ले निःशुल्क उपलब्ध गराएका थिए । यो जग्गाको मुल्य नै करिब ३० लाख बराबरको छ । कार्यक्रममा जग्गा सहयोग गर्ने बसन्त चेम्जोङ र उनकी पत्नी देवीमाया लिंखालाई सम्मान गरिएको थियो । प्रमुख अतिथि एवं पुर्वमन्त्री चेम्जोङले दोसल्ला ओढाउनुका साथै सम्मान पत्र प्रदान गरेका थिए ।

उद्धघाटन कार्यक्रममा आफ्नो भाषा, संस्कार, संस्कृति जोगाउँदै बंश विकास र पारिवारीक एकतालाई बलियो बनाउने उद्देश्यले विभिन्न जातिय संगठनहरु निर्माण हुने क्रममा चेम्जोङ बंश उत्थान संघ गठन भएको महेन्द्र बहुमुखि क्याम्पस, धरानका स्ववियु सभापति तथा सो संस्थाका विद्यार्थी विभाग प्रमुख सरगम सागर चेम्जोङले जानकारी दिए ।

chemjong

यो भवन देश विदेशा रहेका विभिन्न चेम्जोङ वंश तथा दाजुभाईहरुको सहयोगबाट निर्माण सम्पन्न भएको निर्माण समितिका अध्यक्ष दुर्गामान चेम्जोङले जानकारी दिए । उनका अनुसार भवन निर्माणमा २९ लाख भन्दा बढी खर्च भएको छ । भवन उद्घाटन समारोहमा प्रमुख अतिथि एवं पूर्वमन्त्री चेम्जोङ, बिशिष्ट अतिथि एवं संघका केन्द्रीय अध्यक्ष टेकरत्न चेम्जोङ, पुर्वसभासद टिका चेम्जोङ, डिकबहादुर चेम्जोङलगायतले पनि मन्तव्य राखेका थिए । भवन निर्माणमा आर्थिक सहयोग गर्ने दाताहरुलाई धन्यवादसहित प्रशंशापत्र वितरण गरिएको कार्यक्रमको सञ्चालन सागर सरगम चेम्जोङले गरेको सदस्य हरेन्द्र चेम्जोङले जानकारी दिए ।