धरान:१३० औ अन्तर्राष्ट्रिय मजदुर दिवसको अवसर पारेर धरानका ७० जना यातायात मजदुरहरु संघीय समाजवादी फोरममा प्रवेश गरेका छन् ।

सोमबार एक कार्यक्रम आयोजना गरी सचिन राईको नेतृत्वमा यातायात मजदुरहरु फोरम प्रवेश गरेका हुन् । पार्टी प्रवेश गरेसँगै यातायात मजदुर धरान इकाई समिति पनि गठन भएको छ । समाजवादी लोकतान्त्रिक ट्रेड युनियन महासंघका अध्यक्ष तथा राजनीति सदस्य नवराज दाहालको प्रमुख आतिथ्यमा आयोजित कार्यक्रममा मजदुरहरु पार्टी प्रवेश गरेका हुन् । साथै, सचिन राईको अध्यक्षतामा १५ सदस्यीय इकाई पनि गठन भएको छ ।

समितिको उपाध्यक्षमा नगेन राई, सचिवमा मानदिप राई, सहसचिवमा सुबास राई, कोषाध्यक्षमा समीर थापामगर छन् भने सदस्यहरुमा सबिन राई, सुनन्द राई, सन्दिप राई, नवीन राई, महेन्द्र राई, सुमन राई, अलिश राई, सन्दिप लिम्बू, युबराज राई र नवराज राई चयन भएका छन् ।

कार्यक्रममा संघीय समाजवादी फोरम धरान नगर समिति अध्यक्ष ताजुप लिम्बुले मजदुरको समस्यासहित अन्य बर्ग, क्षेत्रको लागि नै पार्टीको नीति तय गरिएको बताए । नयाँ प्रवेश गर्ने मजदुरलाई उनिहरुको समस्यामा पार्टीको तर्फबाट सक्दो सहयोग गर्ने बताए। पार्टी प्रवेश कार्यक्रम धरान मजदुर इन्चार्ज याम किरातीको अध्यक्षतामा भएको थियो ।