इनरुवा : सुनसरीको हरिनगर गाउँपालिकाले सोमबारबाट विद्यार्थी भर्ना अभियान सुरु गरेको छ ।

पिछडिएका समुदायका बालबालिकाहरु शिक्षाबाट बन्चित रहेकोले उक्त समुदायको बालबालिकालाई विद्यालयसम्म ल्याउनका लागि र्यालीसहितको भर्ना अभियान गरि हरिनगर गाउँपालिका वडा नम्बर ५ साबिकको बसन्तपुर सुक्सेनामा रहेको श्री माध्यमिक विद्यालयले भर्ना अभियान सुरु गरेको हो ।

सो विद्यालयमा कक्षा १ देखि ४ सम्म अङ्ग्रेजी माध्यमबाट शिक्षा दिइरहेको विद्यालयका प्रधानध्यापक महानन्द मेहताले बताए ।

गुणस्तरीय सिकाइमा हाम्रो प्रतिबद्धता ‘हाम्रो नगर हाम्रो गाउँ, सबै बालबालिका विद्यालय पुर्याऔँ’ भन्ने मुल नाराका साथ हरिनगर गाउँपालिकाले अभियान सुरु गरेको हो ।
हरिनगर गाउँपालिका अध्यक्ष गफार अन्सारीले घरदैलो अभियान गरेर पढ्ने उमेर भएका बालबालिकालाई स्कुल भर्नाका लागि आह्वान गरिने बताए । कुनै पनि बालबालिकाहरु हरिनगर गाउँपालिकाभित्र पढ्नबाट बञ्चित नरहन अभिभावकहरुलाई अध्यक्ष अन्सारीले आग्रह गरेको छ । शिक्षकहरुले घरघरमा पुगि बालबालिकाहरुलाई विद्यालय ल्याउन समेत उनले निर्देशन दिए ।
विद्यालय बाहिर रहेका बालबालिकालाई शिक्षाको पहुँचमा ल्याउन सकिने विश्वास गरिएको छ । साथै कार्यक्रममा पाठ्यपुस्तक वितरण गरिएको थियो ।

उक्त भर्ना अभियानमा हरिनगर गाउँपालिका उपाध्यक्ष रिमझिम कुमारी भगत, वडा नम्बर ५ वडा सदस्य अताबुल मिया, प्रमुख प्रशासकिय अधिकृत कृष्ण बहादुर कार्की, हरिनगर शिक्षा युवा तथा खेलकुद शाखा प्रमुख अजित कुमार मल्लिक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहन यादव, अभिभावक, समाजसेवि, विद्यार्थी लगायतको उपस्तिथि रहेको थियो ।