धरान:प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति सरकार असहिष्णु रहेको र प्रहरी प्रशासन पूर्वाग्राही रहेको कांग्रेसले आरोप लगाएको छ ।

नेपाली कांग्रेस सुनसरीका सभापति तथा प्रदेश नं. १ का कांग्रेस संसदीय दलका नेता राजीव कोइरालाको अध्यक्षतामा बसेको बैठकले यस्तो निष्कर्ष निकालेको हो । तिनै तहको सरकार प्रतिपक्षीलाई निषेध गरेर अघि बढिरहेको निष्कर्ष बैठकले निकालेको कांग्रेस सुनसरीका सचिव एवं प्रवक्ता सुजेन्द्र तामाङले जानकारी दिए । उनका अनुसार तिनै तहका सरकारले प्रतिपक्षीसँग संविधान, कानुन, विधि–विधान, लोकतान्त्रिक मूल्य–मान्यता र परम्परा अनुसार आवश्यक सरसल्लाह र समन्वय गरी अघि बढ्नुपर्नेमा निषेधको राजनीति गर्ने गरेको कांग्रेसले ठहर गरेको छ ।

यस्तै, प्रहरी प्रशासनले समेत नेपाली कांग्रेसका कार्यकर्ताहरुप्रति पूर्वाग्राही व्यवहार गरिरहेको बैठकले निष्कर्ष निकालेको उनले बताए । 'देश, जनता र दलहरुप्रति सरकारको गैरजिम्मेवारपन र हेपाहा प्रवृत्ति दिनानुदिन बढ्दै गएको छ, प्रहरी प्रशासनले तटस्थ भूमिका निर्वाह गरेको छैन,'बैठकको निष्कर्षबारे उनले भने ।