इटहरी: विद्यार्थीलाई कुटेर घाइते बनाएको भन्दै सुनसरीको रामधुनी ३ स्थित चिल्ड्रेन ड्रिमल्याण्ड मन्टेश्वरीका एक शिक्षक निलम्बनमा परेको छ ।

विद्यार्थी घाईते भएपछि उनलाई आज बिद्यालयले निलम्बन गरेको हो । गत शुक्रबार कक्षा ४ मा अध्ययनरत ८ बर्षीय साब्रिकबहादुर सिंहलाई कुटेर घाइते बनाएका थिए । प्रिन्सिपल सरोज माझीले नोवेल अस्पतालमा जाँच गराएको र अभिभावकले उपचार र शिक्षक निलम्बवनको माग गरेपछि सोही अनुसार गरिएको बताए । 'नोबेलमा चेक गरायौँ,'विद्यालयका प्रिन्सिपल माझीले भने,'अभिभावकहरुले विद्यार्थीको उपचार हुनुपर्ने र शिक्षक निलम्बित हुनुपर्ने माग गरेकोले सोही अनुरुप गरेका हौँ ।' 

यसअघि नयाँ शिक्षक भएका कारण नजानेर गल्ती भएको भन्दै प्रिन्सिपल माझिले कुटपिट गर्ने शिक्षकको बचाउ गर्दै आएका थिए । सामाजिक सञ्जालमा आलोचनासँगै विभिन्न सञ्चारमाध्यममा समाचार प्रकाशन भएपछि उनलाई निष्काशन गरिएको हो । ईलाका प्रहरी कार्यालय पकलीका ईन्चार्ज तथा प्रहरी निरीक्षक जितेश दाहालका अनुसार प्रहरी चौकीमा छलफल गरेपछि पीडित बालकको उपचार खर्च सबै व्यहोर्ने सहमति भएको थियो ।