धरान:धरान पोजिटिभ समुह, धरानले एचआइभि संक्रमित तथा प्रभावित वालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको छ ।

समुहले सुनसरीका १५ जना बालवालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो । बुधवार १२ जना बालक र ३ जना वालिकालाई सामग्री वितरण गरिएको हो । ती मध्ये १३ जना संक्रमित र २ जना प्रभावित बालवालिका रहेका थिए । उनीहरुलाई करीव ५३ हजार रुपैया बराबरको स्टेशनरी समान, जुत्ता, मोजा र स्कुल ब्याग प्रदान गरिएको थियो ।

समुहले अक्षय कोषबाट आएको ब्याज रकमबाट हरेक ६ महिनामा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ । धरान रन संस्थाले तेस्रो नेवा च्यारेटि ८के रनबाट उठेको १ लाख ५० हजार रुपैयाबाट सहयोग स्वरुप एचआइभी संक्रमित तथा प्रभावित वालवालिकाको शिक्षाको लागि हातेमालो अक्षय कोषको निर्माण गरेको थियो । हाल अक्षयकोषमा विभिन्न व्यक्ति एवं संस्थाको सहयोग गरी ५ लाख ७० हजार रुपैया रहेको छ ।

कार्यक्रममा उपस्थित वालवालिकाहरुलाई गोपाल विस्कुट फ्याक्ट्रिका प्रोपराइटर कुन्दन तामाङले खाजासमेत खुवाएका थिए । कार्यक्रममा धरान पोजिटिभ समुहका अध्यक्ष खगेन्द्र खड्का, अग्रज पत्रकार तथा लेखक जनकऋषि राई, धरान रन संस्थाका अध्यक्ष रोमु राई लगायतको उपस्थिति रहेको थियो ।

तस्विर स्रोतः विकास चाम्लिङ राई