धनकुटा: नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति, धनकुटाको छैठौं जिल्ला अधिवेशन तथा भेलाले बिष्णु मोक्तान तामाङलाई १९ सदस्यीय घेदुङको जिल्ला समन्वय समितिको अध्यक्षमा सर्वसम्वत चयन गरेको छ ।

जिल्ला अधिवेशन तथा भेलाले उपाध्यक्षमा गंगाराम गोम्देन तामाङ, सचिवमा फुर्वा घिसिङ तामाङ,सह–सचिवमा धनवहादुर मोक्तान तामाङ र कोषाध्यक्षमा मानवी मोक्तान तामाङलाई सर्वसम्वत चयन गरेको छ ।समितिको सदस्यहरुमा लाखमान घिसिङ तामाङ, कुलवहादुर तितुङ तामाङ, मञ्जु गोङ्गवा, राम घिसिङ तामाङ, कल्पना तामाङ, सन्जिव तितुङ तामाङ, गोविन्द वम्जन तामाङ, साजन मोक्तान तामाङ, मनकुमारी गोले तामाङ, दिलवहादुर तामाङ, उत्तम तामाङ, मणी स्याङ्गवो तामाङ र टेक वहादुर घिसिङलाई चयन गरिएको छ । जिल्ला समन्वय समितिका पदाधिकारी एवं सदस्यहरुलाई घेदुङको विधान अनुसार आगामी ३ वर्षको लागी कार्यकाल हुने गरी प्रदेश घेदुङका सचिव निरेन तितुङ तामाङले सफत ग्रहण गराएका छन् ।

नेपाल तामाङ घेदुङ संघिय समितिको सल्लाहकार सुजेन्द्र गोले तामाङको प्रमुख आतित्थ्यमा अधिवेशन तथा भेला सम्पन्न भएको थियो । नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई वधाई दिदै जिल्ला भेलाका प्रमुख अतिथि गोले तामाङले राज्य व्यवस्थामा जिल्ला समन्वय समिति भए जस्तै घेदुङको पनि जिल्ला समन्वय समिति हुनुपर्ने भन्दै घेदुङको विधान संशोधनमा गोलेले जोडदिए । उनले घेदुङको जिल्ला समन्वय समिति भयो भने मात्र गाउँपालिका, नगरपालिका स्तरका घेदुङहरुसंग आवश्याक समन्वय गरेर अघि वढ्न सकिने वताए ।

pic-3

त्यसैगरी उनले नेकपाको सरकारले आदिवासी जनजातिहरुको साँस्कृतिक पर्वहरुको विदा कटौती प्रति निन्दा गर्दै सरकारी कदमको विरोध गरे । उनले यस्तो अवस्थामा तामाङ जनतामा राजनितिक चेतना हुनु हो त स्वतः राजनितिक विद्रोह हुने थियो तर नेपाल तामाङ समुदाय मात्र होईन सिंगो आदिवासी जनजाति समुदायमा त्यो चेतनाको विकास हुन नसकेको वताए । त्यसैगरी नेपाल तामाङ घेदुङका पुर्व अध्यक्ष एवं धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले अहिलेको युग भनेको विधिको शासनमा चल्ने युग भएकोले सोही अनुरुप तामाङ समुदाय अघि वढ्नु पर्नेमा जोड दिए । ‘तामाङको लागी अरुले गर्दैन आफ्नो लागी आफैले गर्नुपर्छ,’तामाङले भने । उनले त्यसो भयो भने मात्र तामाङ समुदाय आफ्नो खुट्टा आफै टेकेर हिड्न सक्ने नत्र अर्काले दोखाएको वाटो मात्र हिड्दा तामाङ समुदाय अझै अघि वढ्न नसक्ने दावी गरे ।

जिल्ला घेदुङका अध्यक्ष सिताराम थिङ तामाङको अध्यक्षतमा सम्पन्न छैठौं जिल्ला अधिवेशन तथा भेलाको समुद्धघाटन सत्रमा नेपाल तामाङ घेदुङका प्रदेश समितिका सचिव निरेन तामाङ, नेपाल आदिवासी जनजाति महासंघ धनकुटाका अध्यक्ष संजय सन्तोषी राई, एकल जातिय संस्थाहरुकोतर्फवाट सरकुमारी आठपहरिय, संघसंस्थाहरुको तर्फवाट अमित ल्हो तामाङ, चौविसे गाउँपालिका घेदुङका प्रतिनिधि जीवन मोक्तान, छथरजोरपाटी घेदुङका अध्यक्ष मनकुमारी गोले तामाङ लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रमको संचालन जिल्ला घेदुङ धनकुटाका सचिव सन्तवीर लामाले गरेका थिए भने स्वागत मन्तव्य जिल्ला सदस्य फुर्वा घिसिङ तामाङले राखेका थिए । सो अवसरमा तामाङ समुदायका ताम्वाहरुले डम्फु वजाएर सेर्गेम गरेका थिए ।

भाषा, संस्कृति जोगाउन योगदान गर्नेलाई सम्मान

pic-6
नेपाल तामाङ घेदुङ जिल्ला कार्य समिति धनकुटाले छैठौं जिल्ला अधिवेशन तथा भेलाको अवसरमा पारेर तामाङ समुदायको भाषा, संस्कार, संस्कृति र कलालाई वचाई राख्न योगदान गर्ने ५ जना स्रष्टालाई खदा, दोसल्ला र सम्मानपत्रले भव्य सम्मान गरेको छ ।

सम्मानितहरुमा नेपाल तामाङ घेदुङ धनकुटाका संस्थापक अध्यक्ष भुबलाल तामाङ लामा, घेदुङका अध्यक्षद्धय बीरवहादुर तितुङ तामाङ, चिन्तन थिङ तामाङ रहेका छन् । त्यसैगरी जिल्ला घेदुङका निर्वतमान अध्यक्ष स्वर्गिय कृष्ण तितुङ तामाङको यहि वैसाख ७ गतेका दिन निधन भएकाले उनीलाई पनि संस्थाको तर्फवाट मरणोउप्रान्त योगदानको उच्च कदर गर्दै सम्मान गरिएको छ ।

त्यसैगरी स्नातकोत्तर तहमा शोधपत्र तयारगरी तामाङ समुदायका भाषा, कला, संस्कार संस्कृतिलाई अभिलेखीकरण गरेको भन्दै लेगुवा निवासी गोपाल भण्डारीलाई पनि घेदुङको तर्फवाट भव्य सम्मान गरिएको थियो ।