इटहरी : २०६३ वैशाख २६ गते झुम्का नहरमा विद्यालय जाँदै गरेको टेम्पो दुर्घटना हुँदा १३ जना बालबालिकाको निधन भएको थियो ।

तीनै १३ जना बालबालिकाको स्मृतिमा स्थापना भएको श्री तेह्र बालबालिका स्मृति आधारभूत विद्यालयको विहीबार १२ औँ वार्षिकोत्सव कार्यक्रम गरी मनाइएको छ ।
रामधुनी ६ मा रहेको यो विद्यालयले १३ बालबालिकाको स्मरण गर्दै वार्षिकोत्सव मनाइएको हो । ४ जना विद्यार्थीबाट अध्यापन सुरु गरिएको उक्त विद्यालयमा हाल तीन सय बढी विद्यार्थी र १३ जना शिक्षक रहेको विद्यालयका प्रधानाध्यापक सुनिल तिम्सिनाले बताए । विद्यालयमा तिम्सिनाको मात्रै दरबन्दी रहेको छ भने अन्य १२ जना शिक्षकलाई विभिन्न दाताको सहयोगमा कम शुल्क प्रदान गर्दै आईएको छ ।
‘हामीले अहिलेसम्म दाताकै सहयोगमा शिक्षकलाई तलब र विद्यार्थीहरुको पोसाक, कापी, कलम, व्याग र पेन्सिल समेत प्रदान गर्दै आएका छौँ,’ प्रधानाध्यापक तिम्सिनाले भने, ‘नगरपालिकाबाट हामीलाई कुनै सहयोग नआउनु निन्दनीय छ, कतै शिक्षक धेरै नहुँदा विद्यार्थी हुँदैनन्, कतै विद्यार्थी हुँदा शिक्षक हुँदैनन् ।’ तिम्सिनाले अन्य सामूदायिक विद्यालयमा दरबन्दी पाएका शिक्षकहरु घाम तापेर बसेको इङ्गित गर्दै दरबन्दी शिक्षकलाई यहाँ ल्याउन माग गर्दै विद्यार्थीले शिक्षक पर्खिरहेको बताए । उनले भने, ‘कतै शिक्षकहरु विद्यार्थीलाई पर्खन्छन्,यहाँ विद्यार्थीहरु शिक्षकलाई पर्खिरहेका छन् ।’ उनका अनुसार यो विद्यालयलाई रामधुनीकै उत्कृष्ट, संस्कारी, व्यवहारिक, आधुनिक, वैज्ञानिक र गुणस्तरीय विद्यालयका रुपमा स्थापित गर्नका निम्ति आँफू लागि पर्नेमा जोड दिए ।

child

नयाँ शैक्षिक सत्रमा मात्रै १०४ जना विद्यार्थी भर्ना भएको बताउँदै उनले आगामी दिनमा अझै बलियो र व्यवस्थित बनाउँनका निम्ति आँफूहरु लागि परेको बताए । कक्षा ७ सम्म पढाई हुँदै आएको विद्यालयमा हाल प्रत्येक कोठामा सीसी क्यामेराको निगरानी सहित अध्यापन हुँदै आएको छ । साथै विद्यालयमा विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा विशेष जोडका साथ सिकाई गराईराखेको तिम्सिनाले बताए । कार्यक्रमका प्रमुख अतिथि रामधुनी नगरपालिकाका मेयर जय प्रकाश चौधरीले यो विद्यालय रामधुनी क्षेत्रकै उत्कृष्ट र गुणस्तरीय शिक्षा दिदैँ आएको प्रति खुशी व्यक्त गरे । तेह्र बालबालिकाको स्मरण गर्दै मेयर चौधरीले भने, ‘त्यो घटना सम्झदाँ अहिले पनि भावविह्लि बनाउँछ, ग्रामीण भेगमा रहेर पनि शिक्षाको क्षेत्रमा कुनै कसुर नराखी शिक्षा प्रदान गर्नु अनुकरणीय छ ।’

sir-&-miss

कार्यक्रममा शिक्षा समन्वय ईकाई समिति सुनसरीका प्रमुख रमेश दाहाल, रामधुनी नगरपालिकाका शिक्षा शाखा प्रमुख राजन कुमार गेलाल, रामधुनीका शिक्षा समिति सदस्य राजेन्द्र न्यौपाने, भासी माविका प्रधानाध्यापक दशरथचन्द्र दास, रामधुनी ७ का वडाध्यक्ष हेमनारायण राजधामी लगायतले बोल्दै विद्यालयको प्रगतिको कामना गर्दै आँफूहरुले जस्तोसुकै अवस्थामा सहयोग गर्ने बताएका थिए भने विद्यार्थी कोमल रायमाझीले स्वागत मंतब्य राखेका थिए ।