धरान(डेस्क) : सप्तरीमा कक्षा १२ को परिक्षामा इमोमार्फत चिट चोरिरहेको अवस्थामा ३ जना विद्यार्थीलाई नियन्त्रणमा लिएको छ ।


राष्ट्रिय परिक्षा बोर्ड, परिक्षा नियन्त्रण कार्यालय सानोठिमी द्वारा वैशाख १५ गतेदेखि सञ्चालन भइरहेको कक्षा १२ को परिक्षामा २४ गते सर्वोदय मा.वि कञ्चनरुप न.पालिका ८ सप्तरी परिक्षा केन्द्रमा सञ्चालित गणित विषयको परिक्षामा सोही परिक्षा केन्द्रबाट नियन्त्रणमा लिएको हो ।

परिक्षाको मर्यादा विपरीत मोवाइलको प्रयोग गरी परिक्षार्थीहरुले इमो मार्फत चिट चोरीरहेको अवस्थामा केन्द्राध्यक्ष तथा इलाका प्रहरी कार्यालय कंचनरुप, सप्तरीबाट खटिएको प्रहरीको टोलीले २४ गते अनुगमन तथा चेकजाँच गर्ने क्रममा दिपेश सरदार, रामप्रसाद हुमागाई र रंजित कुमार मण्डललाई फेला पारेको हो ।

उनीहरुमध्ये दिपेश सरदारको साथमा इन्टर्नेट डाटा खुला भएको मोवाइल समेत बरामद गरेको छ । उनीहरुले इमो ग्रुप बनाई सो ग्रुपमा गणित विषयको प्रश्नपत्र पठाइ उत्तर प्राप्त गरी तीनै जनाले चिट चोरेको प्रहरीले जनाएको छ । उनीहरुलाई सप्तरी जिल्ला अदालत राजविराजबाट परिक्षाको मर्यादा विपरित कसुरमा म्याद थप गरी थप अनुसन्धान भइरहेको जनाइएको छ ।