लहान : लहान प्रहरीले सप्तरीकी एक युवतीलाई अवैध गर्भपतन मुद्दामा पक्राउ गरेर कारबाही चलाएको छ ।

श्निबार लहानको अस्पताल चोकबाट पक्राउ परेकी ती युवतीलाई जिल्ला अदालत सिरहाबाट म्याद थप गरी कारबाहीका लागि लहान प्रहरी कार्यालयमा राखिएको छ । अविवाहीत ती युवतीले लहान ३ स्थित एक औषधी पसलमा अवैध गर्भपतन गराएकी थिइन् । अवैध गर्भपतन गर्ने स्थान र व्यक्तिको पहिचान खुलिसकेको प्रहरीले जनाएको छ ।

यसरी पक्राउ परिन् युवती

शनिबार लहान नगरपालिका ३ अस्पताल चोकस्थित खेतमा सालनालसहित शिशुको शव फेला पर्यो । खेतमा फालिएको नवजात शिशुको (छोरा) शव परिक्षणका लागि राउ स्मारक अस्पताल लहान पुर्याइयो ।

शव परिक्षणको क्रममा चिकित्सकले उक्त शव १८ देखि २० हप्ताको भएको खुलायो । प्रहरीले सूचनाको आधारमा एक युवती र उनीसंगै आएकी महिलालाई अस्पताल चोकबाटै नियन्त्रणमा लियो । ती युवतीलाई राउ स्मारक अस्पताल लहानमा स्वास्थ्य परिक्षण् गराइयो । परिक्षण गराएपछि गर्भपतन गराएको खुल्यो । त्यसपछि प्रहरीले आइतबार ती युवतीलाई जिल्ला अदालत सिरहाबाट अवैध गर्भपतन मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको छ । अनैतिक सम्बन्धबाट गर्भधारण भएकोले अवैध गर्भपतन गराएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । –नागरिक पूर्वेली दैनिकबाट