धरान(डेस्क): दिनभर प्रहरी कार्यालयमा बस्नु परेका मोरङ, उर्लाबारीका सञ्चारकर्मी किसोर श्रेष्ठ आज घर फर्किएका छन् ।

सोमबार पनि दिनभर प्रहरी कार्यालयमा रहेका उनी आज पनि बिहानैदेखि इलाका प्रहरी कार्यालय उर्लाबारीमा थिए । उनलाई करिब ४ बजेतिर प्रहरीले घर जाने अनुमति दिएको थियो । फेसबुकमा पोष्ट गरेको उनको एउटा स्टाटसले शनिबार र आइतबार दिनभर उनलाई अनुसन्धान एवं सोधपुछको लागि प्रहरीले कार्यालयमा राखेको थियो । शनिबार बाहिर भित्र बाहिर गर्न दिइए पनि आज भने दिनभर उनलाई निस्कन दिइएको थिएन । आखिर उनले के त्यस्तो फेसबुकमा पोष्ट गरेका थिए, जसको कारण उनलाई प्रहरीले अनुसन्धान तथा सोधपुछको लागि बोलायो ? उनले शुक्रबार राती करिब ११ बजे फेसबुकमा लेखेको स्टाटस यस्तो रहेछ:

‘गोर्खा नेपाल जनमुक्ति मोर्चा नामको पार्टीले भोली र पर्सी भित्रमा प्रदेश नम्बर १ को जुनसुकै ठाउँमा बम राख्न सक्ने जानकारीसहितको केही तस्बिर मलाई म्यासेजमा पठाएको रहेछ । उद्देश्य ग्रेटर नेपालको निर्माण भनिएको छ । आएको जानकारीलाई जस्ताको तस्तै राखेको छु, प्रशासनले खोजेको खण्डमा म्यासेज आएको डिटेल बुझाउने छुँ ।’

उनले यो स्टाटससँगै टाइम बमजस्तै, प्रेसर कुकर बम र तारहरुको तस्बिर पनि पोष्ट गरेका थिएँ ।

यही पोष्टले उनलाई शनिबार बिहान इलाका प्रहरी कार्यालय बेलाबारीले बोलायो । शनिबार कतै कुनै घटना भएन । तर, आज आइतबार बिहानै झापाको कन्काईस्थित माई खोलाको पुलमा शंकास्पद बस्तु(वम जस्तै) फेला पर्यो । त्यसलाई नेपाली सेनाको डिस्पोज टोलीले डिस्पोज त गर्यो तर प्रहरीले पुनः बिहानै साढे ७ बजे श्रेष्ठलाई कार्यालय बोलायो । शंकास्पद वस्तुसँगै भेटिएको पर्चा पनि श्रेष्ठले शुक्रबार पोष्ट गरेकै संगठनको थियो भने शंकास्पद वस्तु पनि उस्तै थियो । शनिबार जस्तो आज दिनभर श्रेष्ठलाई बाहिर निस्कन दिइएको थिएन ।

प्रहरीले भने उनले फेसबुकमा लेखे अनुसार कै सामान्य सोधपुछको लागि मात्र बोलाइएको जनाएको थियो । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रमुख तथा प्रहरी निरीक्षक रामप्रसाद तिम्सिनाले फेसबुकमा लेखिएको स्टाटसको कारण उर्लाबारीकै व्यक्ति भएकोले आवश्यक कुराहरु सोधपुछको लागि बोलाइएको बताए । ‘पक्राउ गरिएको होइन, फेसबुकको स्टाटस संवेदनशील बिषय भएको र उर्लाबारीकै मान्छे भएकोले बोलाइएको थियो । उहाँ घर फर्किसक्नु भयो,’उनले भने ।

श्रेष्ठका अनुसार शुक्रबार राती करिब १०ः३० बजे अपरिचित नम्बरबाट मोवाइलमा फोन आयो । ती व्यक्तिले उनलाई बम राख्ने कार्यक्रम रहेको र अन्र्तवार्ता लिन भन्यो । उनले मानेनन् । फेसबुक आईडी मागेर बमको फोटोहरु म्यासेन्जरमा पठाइदिए । उनले अन्र्तवार्ता लिन त मानेनन्, तर राती नै फोटोसहित स्टाटस पोष्ट गरेका थिए । केही समयपछि साथीहरुको आग्रहमा डिलिट पनि गरेका थिए । उनी युवामन नेपाल नामको युट्युब च्यानल चलाउछन् भने स्थानीय पत्रपत्रिकामा लेख्ने पनि गर्छन् । प्रहरीले उनलाई पत्रकार नभएको दाबीसमेत गरेको थियो । तर, पत्रकार महासंघ प्रदेश नं १ का अध्यक्ष बिक्रम निरौलाले भने उनी पत्रकार नै भएको बताएका थिए ।patrakarstatus-125201911315