झापा: बैशाख पहिलो साता गैरकानुनी हिरासतमा राखिएको १५ बर्षीय एक बालकको मृत्यु भएपछि इलाका प्रहरी कार्यालय अनारमनीका डिएसपी सुवास खड्का विवादमा तानिए । मृतकका आफन्त र स्थानीयबासीले उनलाई कारबाहीको माग गर्दै आन्दोलन पनि गरे, तर उनी जोगिए ।

त्यो घटना पुर्णरुपमा सेलाउन नपाई अहिले खड्का पुनः अर्को विवादमा फसेका छन् । अहिले भने उनलाई जोगिन सहज भएन । १ नं प्रदेश प्रहरी कार्यालय विराटनगरले उनलाई विराटनगर तानेर छानबिन शुरु गरिसकेको छ । पछिल्लो घटना सुन्दै अचम्म लाग्ने खालको छ । यो घटना उनको कुर्सीसँग सम्बन्धित एउटा तस्बिर छ । जसले उनलाई पुनः विवादमा मात्र फसाएन, प्रदेश कार्यालय तानिए । उनी माथि अहिले छानबिन भइरहेको बताइएको छ ।

कस्तो हो तस्बिर काण्ड ?

harka-gurung

डिएसपी खड्काको कार्यालयमा उनको 'नेमप्लेट' देखिने गरी म्यानपावर व्यवसायी हर्क गुरुङले कुर्सीमा बसेर तस्बिर खिचेका रहेछन् । उनी कसरी डिएसपीको कुर्सीसम्म पुगे, र बसेर तस्बिर खिचे ? यो प्रश्न पनि रहस्यम नै छ । तर, गुरुङले खिचेको यो बाहिरिएपछि नै डिएसपीलाई विवादसँगै छानबिनको दायरामा तान्यो ।

म्यानपावर व्यवसायी गुरुङ आइतबार पक्राउ परेका थिए । डीएसपी बस्ने कुर्सीमा बसेको फोटो देखाउँदै उनले होटल सञ्चालकलाई धम्क्याउदै कुटपिटसमेत गरेको खुलेपछि उनी पक्राउ परेका थिए । गुरुङले डिएसपी खड्काको कुर्सीमा बसेको फोटो देखाएर 'म प्रहरीको मान्छे हुँ' भन्दै धम्की दिएको र कुटपिट गरेको खुलेको थियो । बिर्तामोडको शनिश्चरे रोडस्थित सेकुवा कर्नरका सञ्चालक रुद्र कन्दङवालाई गुरुङले शुक्रबार राती सेकुवा कर्नरमा नै कुटपिट गरेका थिए । होटल सञ्चालक कन्दङवाले झगडा नगर्न भन्दा गुरुङले उनीमाथि नै आक्रमण गरेका थिए । घाइते होटल सञ्चालकको उपचार भइरहेको छ ।

शुक्रबारको झगडा पछि गुरुङले प्रहरीमा जाहेरी नदिन भन्दै पीडित होटल सञ्चालक कन्दङवा र परिवारलाई बारम्बार धम्की दिए । डिएसपीको कुर्सीमा बसेको तस्बिर देखाउदै त्रसित बनाए । डरले चुपचाप बसेका पीडित कन्दङ्वाको छिमेकी चरिन्द्र कुमार चोङबाङलाई पनि गुरुङले कुटपिट गरेपछि भने उनले प्रहरीलाई उजुरी दिए । अनिमात्र घटनाको रहस्य खुल्यो । तर, डिएसपी खड्का नै विवादमा तानिएर छानबिनको लागि प्रदेश प्रहरी कार्यालय तानिए ।