इटहरी: इटहरी उपमहानगरपालिकाले घरमै पुगेर बच्चा पहिचान गरी दादुरा र रुवेलाविरुद्धको खोप लगाएको छ ।

नौ महिनामा पहिलो खोप लगाएका तर दोश्रो खोप लगाउन छुटेका वच्चाहरुको पहिचान गरि हिजो र आज खोप लगाइएको हो । इटहरीका विभिन्न स्वास्थ्य सस्थाहरु र खोप केन्द्रहरुमा गरि ६० जना वालवालिकालाई खोप लगाइएको स्वास्थ्य शाखा प्रमुख रामचरण चौधरीले बताए । पूर्ण खोप सुनिश्चितताका लागि जनप्रतिनिधि, महिला स्वास्थ्य स्वयसेविका र खोप कार्यकर्ताले वडाका घर घरमा पुगेर खोप लगाउन छुटेका वालवालिकाको पहिचान गरेका थिए ।

इटहरीका स्वास्थ्य सस्था र खोप केन्द्रहरुमा ११ किसिमका खोप नियमित संचालन हुने गरेका छन । इटहरी उपमहानगरले वैशाख महिनालाई खोप महिनाका रुपमा विभिन्न कार्यक्रम गरेको छ । यसैक्रममा पूर्णखोप सुनिश्चितता र दीगोपनाका लागि उपमहानगरस्तरीय योजना निर्माण अभिमुखिकरण गोष्ठि सम्पन्न भएको छ । गोष्ठिमा खोप केन्द्रहरु थप गर्नुपर्ने भए कहाँ कहाँ गर्न सकिन्छ भन्ने लगायतका बिषयमा छलफल भएको छ । सम्वन्धित वडाध्यक्ष,स्वास्थ्कर्मी र सरोकारवाला विच वडा वडामा छलफल गरेर सात दिन भित्रमा प्रतिवेदन दिइने निर्णय भएको स्वास्थ्य शाखा प्रमुख चौधरीले बताए ।