इटहरी : नेपाल प्रेस युनियन सुनसरीले भोलि जेष्ठ १ गते बुधबार इटहरी चौकमा सरकारविरुद्ध आन्दोलन गर्ने चेतावनी दिएको छ ।

प्रेस युनियन अध्यक्ष धनबहादुर पुरीले दिएको जानकारी अनुसार वर्तमान केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रताविरुद्ध विधेयक पारित गरेको भन्दै आँफूहरु आन्दोलनको तयारीमा जुटेको बताए । उनले भने, “सरकारले प्रेस स्वतन्त्रता बिरुद्ध बिधेयक पारित गरेका कारण हामी मुखमा कालोपट्टी बाँधेर आन्दोलन गर्ने तयारीमा छौँ ।”

पुरीका अनुसार आन्दोलन गनुपूर्व नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्व अर्थमन्त्री डा.रामशरण महत तथा अन्य नेताहरु रामहरि खतिवडा र रामकृष्ण यादव इटहरी आउने छन् । साथै उनीहरुबीच नेपाल प्रेस युनियन र नेताहरुबीचको अन्तरसम्बन्ध बारे अन्तरक्रिया कार्यक्रम हुनेछ । नेताहरुबीच युनियन कार्यालयमा छलफल हुनेछ भने आन्दोलनको कार्यक्रम इटहरी चौकमा १० बजे सुरु हुनेछ । उक्त कार्यक्रममा सहभागी हुन सबैलाई सूचित समेत गरिएको युनियनले जनाएको छ ।