धरान: वर्तमान सरकारले संंसदमा पेश गरेको मिडिया काउन्सिल विधेयक प्र्रेस स्वतन्त्रतामाथि अंकुश लगाउने नियतले ल्याएको भन्दै देशभरका सञ्चारकर्मी आन्दोलित भएका छन् ।

नेपाल पत्रकार महासंघको सर्कुलर अनुरुप आज देशभरका स्थानीय तहमा कालोपट्टी बाँधेर पत्रकारहरुले विरोध जनाएका हुन् । नेपाल पत्रकार महासंघ सुनसरीको आह्वानमा धरान उपमहानगरपालिका, इनरुव नगरपालिका र इटहरी उपमहानगरपालिका अगाडि कालोपट्टी बाँधेर विरोध जनाएका छन् । वैसाख २६ गते पेश गरिएको यो विधेयकले सञ्चार क्षेत्रलाई कुण्ठित बनाउने अभिप्रायले वर्तमान सरकारले ल्याएको भन्दै यसको विरुद्धमा पत्रकार महासंघ आन्दोलनमा छ । स्थानीय तह अगाडि कालोपटि बाँधेर विरोधमा उत्रिएका सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयक खारेज गर, सञ्चारमन्त्री गोकुल बास्कोटा राजीनामा दे लगायतका नारा समेत लगाएका थिए ।

सो अवसरमा बोल्दै सुनसरीका अग्रज पत्रकार हर्ष सुब्बाले पे्रसलाई अंकुश लगाउनु भनेको सञ्चारकर्मीमात्र हैन, सर्वसाधारण जनता, राजनैतिक दल लगायतले पाउन सूचनामा अंकुश लगाउने काम भएको बताए । उनले वर्तमान वहुमत प्राप्त कम्प्युनिष्ट सरकारले सञ्चारक्षेत्रलाई अंकुश लगाउन ल्याएको विधेयकप्रति खुलेर विरोध गर्नुपर्नेमा जोडदिए । उनले मुलुकमा संघीय लोकतान्त्रिक गणतन्त्र आइसक्दा पनि शाहीकाल, पञ्चायतकालमा जस्तो तानाशाही तरिकाले विधेयक आउनु प्रजातन्त्रमाथि प्रहार भएको बताए ।

यस्तै नेपाल पत्रकार महासंघ सुनसरीका उपाध्यक्ष सन्तोष काफ्लेले सञ्चारकर्र्मीले लोकतन्त्र स्थापनाका लागि ठूलो भूमिका निर्वाह गरेको बताए । उनले संघीय संरचनासंगै मुलुकमा गणतन्त्रमा प्रवेश गरेपछि सरकारले सञ्चारमैत्री वातावरण तयार पार्ला भन्ने सोचेको भए पनि विगतमा सञ्चारकर्मी नै रहेका अहिलेको गोकुल बास्कोटाकै सरकारले विधेयक ल्याउदा या सरकारको नियतमाथि शंका गर्नुपर्ने प्रशस्त ठाउ भएको बताए । उनीहरुले यो विधेयक खारेज नहुन्जेल निरन्तर आन्दोलन गर्ने चेतावनी समेत दिएका छन् । कार्यक्रम अनुरुप जेष्ठ ३ गते जेष्ठभरका जिल्ला प्रशासन कार्यालय अगाडि सञ्चार सामाग्री सहित धर्ना दिन कार्यक्रम तय गरिएको छ ।

प्रेस युनियनको पनि प्रर्दशन

नेपाल प्रेस युनियन सुनसरीले सरकारबिरुद्ध इटहरीमा प्रदर्शन गरेको छ ।
आज इटहरीमा आयोजित बिरोध कार्यक्रममा युनियनका जिल्ला सभापति धनबहादुर पुरीले सरकारले पत्रकारहरुलाई लेख्न र बोल्नका निम्ति अंकुश लगाएको भन्दै आँफूहरु आन्दोलनमा उत्रन बाध्य भएको बताए । पुरीले भने, सरकारले पत्रकारलाई लेख्न र बोल्नका निम्ति अंकुश लगाएकाले हामी प्रर्दशनमा उत्रन बाध्य भएका छौँ ।

प्रेस युनियनमा आबद्ध एवम् अन्य संघ संस्थामा आबद्ध पत्रकारहरुले इटहरीको मुख्य चौकमा मुख र हातमा कालोपट्टी बाँधेर बिरोध जनाएको थिए । कालोपट्टी बाँधेर एक खुट्टा उचालेर बिरोध गरिएको थियो । सरकारले लेख्न, बोल्न र हिड्नका लागि अंकुश लगाएको भन्दै उक्त कार्यक्रमको आयोजना गरिएको थियो । बर्तमान केपी ओली नेतृत्वको सरकारले प्रेस स्वतन्त्रतामाथिको विधेयक संसदमा पेश गरेपछि युनियन सुनसरीले बिरोध कार्यक्रमको आयोजना गरेको हो ।