धरान:वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा राष्ट्रिय अन्तर मेडिकल कलेजस्तरीय हाजिरीजवाफ प्रतियोगिता यही जेष्ठ १० र ११ गते हुने भएको छ ।

वीपी प्रतिष्ठानस्थित विद्यार्थी रक्तदान समुह र विद्यार्थी कल्याण समाजको संयुक्त आयोजनामा दोस्रो संस्करणको मेडि क्वीज नेपाल २०१९ हुने भएको हो । प्रतियोगितामा प्रतिस्पर्धीहरुलाई लिखित र मौखिम दुबै प्रश्न दिइने कार्यक्रम संयोजक डा. रिता खड्काले बताइन् । ‘प्रतियोगितामा पहिला लिखित र पछि मौखिक प्रश्न हुन्छ,’डा. खड्काले भनिन्,‘पहिलो चरणमा लिखित लिन्छौ, त्यसपछि मौखिक प्रश्न सोधिने छ ।’

नेपालीभरी करिब २० वटा मेडिकल कलेज छन् । ती सबै कलेजहरुलाई पत्राचार गरिएको उनले बताइन् । प्रतियोगितामा मेडिकल शिक्षा सम्बन्धीका प्रश्नहरु सोधिनेछ । प्रतियोगितामा सहभागी बन्न शुल्क ५ हजार रुपैयाँ तोकिएको छ । प्रतियोगिताको विजेताहरुलाई ट्रफी र किताब प्रदान गरिने आयोजकले जनाएको छ ।

पहिलो संस्करणमा ९ वटा कलेज सहभागी भएको थियो । जसमा वीपी प्रतिष्ठानका विद्यार्थी प्रथम, दोस्रो टिचिङ हस्पिटल कोठमाडौं र तेस्रो किष्ट मेडिकल कलेज भएको थियो । चिकित्सा शिक्षा अध्ययनरत विद्यार्थीहरुको बौद्धिक विकास होस् भन्ने उद्देश्यले प्रतियोगिताको आयोजना गदै आएको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान विद्यार्थी रक्तदान समुहकी अध्यक्ष डा. मनिषा श्रेष्ठले बताइन् ।