इटहरी : इटहरी ९ मा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम)स्कुलमा बनेको संरचना ऐलेनी भएपछि इटहरीका मेयर द्धारिकलाल चौधरीले भत्काउने चेतावनी दिएका छन् ।

आज इटहरी उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै मेयर चौधरीले विद्यालयलाई वार्तामा बोलाएको भएपनि वार्ता निश्कर्ष बिहीन भएपछि भोलि बिहान ६ बजे नै डोजर लिएर विद्यालय जाने मेयर चौधरीले चेतावनी दिएका हुन् । यसअघि मुख्यमन्त्री शेरधन राईले जनता पार्क शिलान्यास गर्न लागेको उक्त जमीन विवादित भएपछि मुख्यमन्त्रीले उद्धघाटन गरेका थिएनन् । गत मंसिर २० गते जनता पार्कको शिलान्यास गरिएको थियो । तर निर्माण कार्यमा कुनै प्रगती नदेखिएपछी काम नभएपछि मेयर चौधरीको आलोचना हुँदै आएको थियो । तर, मेयर चौधरीले आज पत्रकार सम्मेलन गरि कामलाई पनि तीब्रता दिने बताए । उनले भने, ‘हामी कामलाई अब तीब्रता दिन्छौँ, डिभिएम स्कुललाई पटक–पटक जानकारी गराइएको भएपनि वास्ता नगरिएपछि भोली म आँफै डोजर लिएर त्यहाँ पुग्छु ।’ उक्त विद्यालयले ३ विगाह ३ कट्टा ३ धुर सार्वजनिक (ऐलानी) जग्गा ओगटेको छ । विद्यालयले कम्पाउण्ड वाल समेत लगाएको छ ।

इटहरी ९ मा पर्ने उक्त जमीनमा वडाध्यक्ष भुुपेन्द्र बरालको संयोजकत्वमा छानबिन समिति बनाईएको थियो । उक्त समितितले नगरपालिकाको स्वामित्वमा जग्गा ल्याउनुपर्ने भन्दै प्रतिवेदन समेत बुझाइसकेको छ । स्कुलका नाममा दुई कित्तामा ६ कट्टा पाँच धुर जग्गा मात्र नम्बरी रहेको छ भने बाँकी जग्गा ऐलानी रहेको छ । आजै डिभिएम स्कुलका संचालकहरु सँग वार्ता समेत भएको छ । वार्तामा विद्यालयललाई चार वटा विकल्प दिइएको मेयर चौधरीले बताए । उनले भने, ‘ विद्यालयले ओगटेको जग्गा लिजमा लिनुपर्ने, सट्टा पट्टाका लागि तयार हुनुपर्ने, बनेको संरचनाको मूल्य लिनुपर्ने अन्यथा कानुन वमोजिम अघि वढ्ने गरि चार वटा विकल्प दिइएको छ ।’ अटेर गरेमा आँफू कानुन बमोजिम जाने बताउँदै भने, ‘यी चारवटा बिकल्प दिइएको छ, नभए हामी कानुन बमोजीम अगाडि बढ्नेछौँ ।’

यता डिभिएम स्कुलका सञ्चालक समिति मध्येका धुब्र सुब्बाले भने आफुहरुले उक्त जग्गा किनेको र स्कुल सञ्चालन गर्दै आएको बताए । उनले भने, ‘मेयर साबले चारवठा अप्सन दिनुभएको छ, हामी चकित भएका छौँ, के गर्ने–गर्ने ।’ अन्य ठाउँमा पनि सार्वजनिक जग्गामा संरचना भएको भएपनि मेयर चौधरीले डिभिएम स्कुलको मात्र संरचना भत्काउन लागेको आरोप लगाउँदै आपत्ती जनाए ।