इटहरी: इटहरी ९ मा रहेको नेपाल दयानन्द वैदिक मिसन ग्लोबल एकेडेमी (डिभिएम) स्कुलमा डोजर चलाइएको छ ।

आज इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले स्कुल परिसरमा डोजर चलाउन आदेश दिएसँगै यहाँ डोजर चलेको हो । जेष्ठ ५ गते मेयर चौधरीले इटहरी उपमहानगरपालिकामा पत्रकार सम्मेलन गर्दै डोजर चलाउने बताएका थिए । तर, दुई दिनको म्याद थप गरिएको भएपनि कुनै निष्कर्ष ननिस्केपछि आज उपमहानगरपालिकाले डोजर चलाएको हो । उक्त विद्यालयले ३ विगाह ३ कट्टा ३ धुर सार्वजनिक (ऐलानी) जग्गा ओगटेको बताइएको छ । यसअघि मेयर चौधरीले विद्यालयलाई चारवटा विकल्प दिएको भएपनि विद्यालयले कुनै निष्कर्ष ननिकालेका कारण आज डोजर चलाइएको हो । विद्यालयले ओगटेको जग्गा लिजमा लिनुपर्ने, सट्टा पट्टाका लागि तयार हुनुपर्ने, बनेको संरचनाको मूल्य लिनुपर्ने अन्यथा कानुन वमोजिम अघि वढ्ने गरि यसअघि चार वटा विकल्प दिएको थियो ।

यहाँ रहेको सार्वजनिक जग्गामा मेयर चौधरीले जनता पार्क बनाउनका लागि गत मंसिर २० गते शिलान्यास गरेका थिए । मेयर चौधरीले बुधबार (आज) डोजर चलाईसकेपछि भने यो बिद्यालयले सार्वजनिक जग्गा चर्चेको भन्ने थाहा पाएपछि हामीले अनुगमन पनि गर्यौँ, कार्यदल पनि बनाएका थियौँ, तर विद्यालय प्रशासन उदासिन रह्यो । आँफूले चार अप्सन दिएको भएपनि विद्यालय निष्कर्ष बिहीन रहेकाले डोजर चलाउन बाध्य भएको बताए । विद्यालय सञ्चालन भईरहेको बेला डोजर चलाउँदा नकारात्मक असर पर्छ नि भन्ने प्रश्नमा उनले भने, 'यस्ता कुरा नगर्नुहोस्, यहाँ शैक्षिक संस्थाको नाममा कम्पनी सञ्चालन भईरहेको छ । यहाँ सुकुम्बासीका छोराछोरी, अपाङ्ग छन्, यहाँ गरीबका छोराछोरी छन् ?' उनले आक्रोशित हुँदै यो विद्यालयले शिक्षाको नाममा कारखाना सञ्चालन गरेको बताए ।

यता, विद्यालय सञ्चालक मध्येका धुब्र सुब्बाले भने विद्यालयले पटक–पटक नगरपालिकासँग छलफल गरेको भएपनि निष्कर्ष ननिस्केको बताए । उनले भने,'हामीले अहिले पनि खल्तीबाट तलब दिने अवस्था छ, म केही भन्न सक्दिन, आँफै लाचार छु ।' उनले सार्वजनिक जग्गा भोगचलन गर्नेहरु गनेर साध्य नहुने तर्क गरे । २०६२ सालमा आँफूहरुले पनि अन्य व्यक्तिहरुबाट उक्त जमीन खरीद गरेको बताउँदै उनले यहाँ ५ सय बढी विद्यार्थी अध्ययन गर्दै आएकाले यिनीहरुबारे चिन्तित रहेको बताए ।