धरान: नेत्रबिक्रम चन्द(विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले भोजपुरमा आफ्नो कार्यकर्तालाई पक्राउ गरी हत्या गरेको दाबी गरेको छ । साथै, पार्टीले यो घटनाको उचित समयमा वदला लिने चेतावनी दिएको छ ।

महासचिव विप्लवले विज्ञप्ती जारी गर्दै मृतक तीर्थराज घिमिरे आफ्नो युवा संगठनको कार्यकर्ता भएको पनि जनाएका छन् । साङ्गठनिक कामको सिलसिलामा हिँडिरहेको समयमा पक्राउ गरेर घिमिरेलाई हत्या गरेको उनले दाबी गरेका छन् । प्रहरीले भिडन्तमा मारिएको बताइरहे पनि महासचिव विप्लवले भने पक्राउ गरेर भिडन्ताको नाम दिएर घिमिरेको हत्या गरेको जनाएका छन् । सरकारले हत्या गरेर जनशक्ति रोक्न खोजे पनि त्यो सपना मात्रै हुने विप्लवले विज्ञप्तीमा भनेका छन् ।'हत्याको सहारा लिएर कुनै मुक्ति अभियान रोकिएको छैन,'महासचिव विप्लवले जारी गरेको विज्ञप्तिमा भनिएको छ,'जघन्य हत्याको बदला जनताले उचित समयमा लिने नै छन्।'

घिमिरेको हत्याको छानविन गर्नुपर्ने पनि माग विप्लवले गरेका छन् । दमन, चरम यातना र हत्यासम्म उत्रिएर देशलाई योजनाबद्ध तरिकाले गृहयुद्धमा धकेल्ने कूचेष्टा राज्यले गरेको नेकपाले गरेको छ । यस्तै, नेकपाले प्रतिबन्ध, धरपकड र हत्या हिंसाका विरुद्ध संघर्षका कार्यक्रम समेत घोषणा गरेको छ ।कार्यक्रम अन्तरगत जेठ १० र ११ गते भण्डाफोर र कोणसभा गर्ने, १२ गते देशव्यापी मसाल जुलुस गर्ने र १३ गते नेपाल बन्द गर्ने विज्ञप्तिमा जनाइएको छ । घिमिरेलाई प्रहरीले गोली हानी पक्राउ गरेको बताएको थियो । घाइते घिमिरेको उपचारको क्रममा भोजपुर मृत्यु भएको बताइएको छ ।