पथरी: पथरी शनिश्चरे नगरपालिकाको कार्यालय कहाँ राख्ने भन्ने विषय विवादित र पेचिलो बनेपछि विवाद अन्त्य गर्न एक समिति गठन भएको छ ।

केन्द्रको बिषयको विवाद चर्किदै गएपछि नगरकार्यपालिकाले उपप्रमुख यमुना वास्तोलाको संयोजकत्वमा विवाद अन्त्य गर्न एक समिति गठन गरेको हो । नगरपालिकाको कार्यालय पथरी बजार आसपासमा राख्ने कि नराख्ने भन्ने बिषयमा जनप्रतिनिधिहरुबीचमा नै मतभिन्नता छ । केही जनप्रतिनिधिहरु पथरी बजार क्षेत्रमा नै कार्यालय रहनुपर्ने पक्षमा छन् भने केही वडाअध्यक्ष र राजनीतिक दलका नेता पथरीशनिश्चरे वडा नं १० मा कार्यालय राख्नुपर्ने पक्षमा छन् ।

केन्द्रको यो विवाद सुल्झाउन नगर कार्यपालिकाको शुक्रवारको बैठकले समिति ठन गरेको हो । केन्द्रको विवाद सुल्झाएर जग्गा प्राप्तिको पहल गर्ने गरी उप्रमुखलाई संयोजक नगरकार्यपालिकाले तोकेको छ । समितिमा ३ जना वडाध्यक्ष र १ जना कार्यपालिका सदस्य रहेका छन् । समितिले केन्द्र राख्न तोकिएको स्थानको जग्गा प्राप्तिको पहल गर्ने र नगरपालिकाको ‘पथरी शनिश्चरे’ नामलाई पनि हसन्दहको समेत भावनालाई समेट्दै उपयुक्त नाम जुराउने विषयमा समेत टुंगो लगाउन म्याण्डेड दिइएको छ । समितिलाई भदौ १० गतेसम्ममा प्रतिवेदन पेश गर्न जिम्मेवारी दिइएको नगर प्रवक्ता यामप्रसाद गुरागाईंले जनाए ।

नगरपालिकाको केन्द्रको बिषयमा २०६८ साउन ३२ गते राजनीतिक सहमति भएको थियो । त्यसपछि पनि यो विवाद पुनरावेदन अदालत हुँदै सर्वाेच्च अदालतमा पुगेको थियो । सर्वोच्चको फैसलामा हालको वडा नम्वर १० स्थित भूटानी शरणार्थी शिविर क्षेत्रमा नगरपालिका केन्द्र तोकिएको थियो । तर सो क्षेत्रमा भवन निर्माण नभइसकेको भन्दै नगरपालिकाले साविकको पथरी गाविस कार्यालयमा अस्थाई केन्द्रकोरुपमा प्रयोग गरिएको छ । जसका कारण भवन साँघुरो भएर कामकाजमा समस्या हुँदै आएको छ ।

वडा नम्वर १० तर्फका बासिन्दाहरुले भनें अदालतको निर्णयलाई कार्यान्वयन नगरी अपहेलना गरेको भन्दै नगरपालिकामाथि अपहेलनाको थप मुद्दा समेत दायर गरेका छन् । उनीहरुले शिविर क्षेत्रमै प्रदेश सरकारले निर्माण प्रक्रिया अघि सारेको अवस्थामा सोही ठाउँमा नगरपालिका कार्यालय भवनका लागि पनि जग्गाप्राप्तिमा सहजता हुने जिकिर गरेका छन् । वडा नम्वर १० का अध्यक्ष सागर राईले भुटानी शरर्णाथी शिविर भन्दा वाहिर पथरीशनिश्चरे नगरपालिका कार्यालय राख्ने निर्णय मान्य नहुने वताए । कुनै पनि किसीमको षड्यन्त्र गरेर नगरपालिकाको केन्द्र सार्ने निर्णय गरे स्थानियवासीले आन्दोलन गर्ने वताए ।
यसैवीच, पथरी उद्योग वाणिज्य संघले पनि कार्यालयको विवाद टुंग्याएर चाँडो भवन बनाउन ध्यानाकर्षण गराउँदै ज्ञापनपत्र पेश गरेको छ । उसले पथरीशनिश्चरे १ स्थित पथरी क्याम्पस पूर्वको खाली जग्गामा कार्यालय वनाउन उपयुक्त हुने बढाउन सुझाव दिएको छ ।