धरान: नेपाल तामाङ घेदुङको नवौं राष्ट्रिय महाधिवेशन सुनसरीको धरानमा गर्न माग गर्ने निर्णय गरिएको छ ।

नेपाल तामाङ घेदुङ सुनसरीका अध्यक्ष सुरज लामाको अध्यक्षतामा तथा घेदुङका पूर्व केन्द्रीय अध्यक्ष महेन्द्रजंग योञ्जन, महासचिव मोहितकुमार घिसिङ(बाबु), केन्द्रीय सल्लाहकार सुजेन्द्र गोले, केन्द्रीय सदस्यहरु दिलकुमार पाख्रिन, मैतबहादुर गोले, रामप्यारी मोक्तान, प्रदेश उपाध्यक्ष रामबहादुर ग्यावा, प्रदेश सह–सचिव मणि तितुङ, प्रदेश सल्लाहकार मनु मोक्तान लगायतको उपस्थितिमा बसेको बैठकले यस्तो निर्णय गरेको हो । बैठकले घेदुङको विद्यमान विधानमा केही संशोधन आवश्यक रहेको समेत औल्याएको छ ।

२०५४ सालमा मोरङको उर्लावारीमा चौथो महाधिवेशन भए यता कुनै महाधिवेशन तथा राष्ट्रिय कार्यक्रम पूर्वाञ्चलमा नभएकोले पनि नवौं महाधिवेशन १ नं. प्रदेश अन्तर्गत सुनसरीको धरानमा गर्नुपर्ने ठहर बैठकले गरेको छ । धरानमा महाधिवेशन गर्नुपर्छ भन्ने सन्दर्भमा प्रदेश अध्यक्ष मित्रसेन योञ्जन, प्रदेशका १४ वटै केन्द्रीय सदस्य तथा जिल्ला अध्यक्षहरुको एकमत रहेको घेदुङका सल्लाहकार सुजेन्द्र गोलेले बताए । उनले विषय प्रवेश गर्दै घेदुङको संशोधित विधानमा जिल्लाको संरचनालाई नवौं महाधिवेशन पछि स्वतः विघटन गर्ने उल्लेख भएकाले त्यसवाट संगठनमा गम्भिर आंच आउने जिकिरसमेत गरे । साथै उनले जिल्ला संरचनालाई निरन्तरता दिन र नवौं महाधिवेशनसम्म सबै जिल्ला कार्यसमितिहरुले जिल्ला समन्वय समितिको हैसियतले समन्वकारी भूमिका गर्ने भन्ने विधानको प्रावधान बमोजिम उक्त समयसम्म जिल्ला समन्वय समितिले साधारण सभा गर्न र कार्यकाल समाप्त भईसकेको हकमा जिल्ला अधिवेशन समेत गर्न सक्ने गरी संघीय परिषदले परिपत्र गर्न आवश्यक रहेको पन बताए ।

ghedungg

अहिले तामाङको विभिन्न थरगत संघसंस्थाहरु निर्माण भईरहेको बताउंदै उनीहरुको माध्यमवाट तामाङ एकिकरण, घेदुङको संगठन निर्माण, विचार प्रवाह तथा घेदुङमा तामाङ जनताको पहुंच स्थापित गर्न सरल र सहज हुने भन्दै त्यस्ता थरगत संघसंस्थालाई घेदुङमा एफिलेसन गराएर उनीहरु र घेदुङको तहगत संरचना अनुसार आमन्त्रित सदस्यको हैषियत प्रदान गरी मूल प्रवाहमा समेट्न पनि आवश्यक रहेको बताए । घेदुङका महासचिव मोहितकुमार घिसिङले धरानमा महाधिवेशन गर्ने निर्णयमा एक्यवद्धता जनाउंदै जिल्ला समन्वय समिति र थरगत संघसंस्था सम्बन्धमा नवौं महाधिवशेनमा विशेष प्रस्ताव लैजाने प्रतिवद्धता जनाए । घेदुङका सल्लाहकार एवम् पूर्व केन्द्रीय अध्यक्ष तथा अन्तराष्ट्रिय तामाङ परिषदका पूर्व अध्यक्ष महेन्द्रजंग योञ्जनले पूर्वको धरानमा महाधिवेशन गर्न उपयुक्त हुने भन्दै अहिले देखिएका असमझदारीहरुलाई महाधिवशेन अगावै सुल्भाउनुपर्नेमा जोड दिए ।

केन्द्रीय सदस्य दिलकुमार पाख्रिनले तामाङ जनताहरुको घेदुङप्रतिको आकर्षण घट्न नदिन वेलैमा विवेक पुर्याउनुपर्ने बताए । धनकुटा जिल्ला अध्यक्ष विष्णु मोक्तानले केन्द्र र प्रदेशले ले जिल्लामा काम गर्न सहज वातावरण बनाउनु पर्ने बताए । मोरङ जिल्ला अध्यक्ष दिलबहादुर पाख्रिनले केन्द्रले वाइपास नगरी काम गर्नुपर्ने बताए । तामाङ सञ्चार समूहका प्रदेश अध्यक्ष सन्तवीर लामाले घेदुङको जिल्ला संरचना हटाउने हो भने घेदुङको संगठन अत्यन्तै कम्जोर भएर जाने बताए । नेपाल तामाङ महिला घेदुङ सुनसरीका अध्यक्ष विष्णु मोक्तानले महिलाहरुलाई पनि अवसर दिनुपर्ने बताए ।