सुनसरी: कोशी राजमार्गको धरान इटहरी सडकखण्डमा पनि आज बिहान शंकास्पद बस्तु फेला परेको थियो ।

सेउती पुल दक्षिण खानेपानीको टंकी नजिक क्षेत्रमा भेटिएको शंकास्पद वस्तुलाई नेपाली सेनाको टोलीले डिस्पोज गरिसकेको छ । आज नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीको बन्द आह्वान भएकोले उक्त बस्तु सोही पार्टीले राखेको हुनसक्ने अनुमान छ ।

शंकास्पद बस्तु भेटिएपछि केही समय कोशीराजमार्ग अवरुद्ध भएको सोही सडक भएर इटहरी जादै गरेका धरान १७ निवासी सन्दीप लिम्बूले जानकारी दिए । उनले भने,'आधा घण्टाभन्दा बढी बाटो रोकियो । सेनाले डिस्पोज गरेपछि अहिले सडक खुलिसकेको छ ।'

आज विप्लवको बन्द आह्वानले यातायात ठप्प छ । भोजपुरमा आफ्नो कार्यकर्ता मारिएको विरोधमा विप्लवले बन्द आह्वान गरेका हुन् । मोटरसाइकलबाहेक लामो दुरीका सवारीसाधनहरु आज चलेको छैन ।