इटहरी: इटहरी उपमहानगरपालिकाले जनता पार्क निर्माण स्थलमा घेरावाराको काम हाललाई स्थगित गरेको छ ।

जिल्ला अदालतले दयानन्द वैदिक मिसन (डिभिएम) ग्लोबल अकाडेमी स्कुल क्षेत्रमा तत्काल केही नगर्न अन्तरिम आदेश दिएपछि उपमहानगरले हाललाई घेराबाराको काम रोकेको हो । अदालतको आदेशको सम्मान गर्दै सो कार्य अहिलेलाई स्थगित गरिएको कार्यवाहक नगरप्रमुख लक्ष्मी गौतमले जानकारी दिइन् । जेठ २४ गते आवश्यक प्रमाण र कागजातसहित अदालतमा उपस्थित हुने पनि उनले जानकारी दिइन् । त्यसपछि अदालतको आदेश अनुसार अघि बढने उनको भनाई छ ।

सार्वजनिक जग्गा मिचेर विद्यालयको संरचना बनाएको डिभिएम स्कुलमा मेयर द्धारिकलाल चौधरीले डोजर लगेर भत्काउने चेतनावी दिएका थिए । यसअघि सो स्थानमा जनता पार्क बनाउने भन्दै शिलान्यास पनि भएको थियो । सोही स्थानमा घेराबाराको काम भइरहदा विद्यालय सञ्चालकहरूले अदालतमा रिट दायर गरेका थिए । न्यायधिश खिमानन्द भुसालले विद्यालयको जमिनमा तत्काल केही नगर्न आदेश दिएका छन् ।

विद्यालयले ओगटेको सार्वजनिक जग्गामा उपमहानगरले जनता पार्क निर्माणका लागि अहिलेसम्म दुईसय फुट सोलिङ ढलाई गरेर फलामको पोल गाडिएको छ भने सय फुट तार जालीले घेराबारा गरिएको छ । उक्त तारजाली राति नै स्कुलले भत्काइदिएको थियो । सार्वजनिक जग्गा संरक्षण गर्ने जिम्मा कानुनले स्थानीय सरकारलाई दिएकाले पार्क वनाउने निर्णय गरि घेरावारा गरेको कार्यवाहक नगर प्रमुख गौतमले बताइन् । “विद्यालयलाई चार विकल्प दियौ, अटेर गरेपछि विद्यालयलाई असर नपर्ने गरि काम अघि वढेको थियो,”उनले भनिन्,“उहाँहरु आफै कानुनी प्रक्रियामा गएपछि हामीलाई सजिलो भयो, अव हुने अदालतको आदेश सबैले मान्नुपर्छ । अव कुनै सम्झौता हुने छैन ।”