धरान:दुबै मृगौला खराब भएर थलिएकी ३२ वर्षिय अंकिता राईको उपचारमा सहयोग जुटाउन समीट स्कुलको २०६० सालको एसएलसी ब्याचले आर्थिक सहयोग संकलन अभियान सुरू गरेको छ ।

धरान ८ सभागृह मार्गमा बस्दै आएकी राई रोजगारको लागि विगत ७ वर्षदेखि अबुदाबीस्थित एक कम्पनीमा सेल्स विभागमा कार्यरत थिइन् । उनी विगत ३ वर्षदेखि उच्च रक्तचापको औषधी लिइरहेकी थिइन् । करिब ७ महिना अघिबाट उनलाई शरीर सुन्निने समस्या देखा परेको थियो । सो क्रममा जाँच गराउँदा मृगौलामा समस्या देखिएको राईले बताइन । राईलाई जाँच गरिरहेको चिकित्सकले सामान्य समस्या भएकोले ठिक हुने बताउँदै औषधी प्रयोग गर्न सल्लाह दिएअनुसार नियमित औषधी खान थालेकी थिइन् । तर पनि समस्यामा कमी नआएकोले ३ महिना अघि अर्को चिकित्सकलाई देखाउदा दुवै मृगौला खराब भइसकेको रिपोर्ट आयो । साथै, ती चिकित्सकले चाँडो डाइलसिसको उपचार सुरू गर्न सल्लाह दिएका थिए ।

चिकित्सकको यो सल्लाहपछि उनी तत्काल नेपाल आउन चाहे पनि एक महिनाको अवधि पर्खनु परेको थियो । नेपाल आउनको लागि काम छोड्ने नोटिस अवधीको १ महिनासम्म उनले विरामी अवस्थामा नै उनले काम गर्नुपर्यो । त्यस पश्चात भिसा क्यानसिलेसन गर्न करीब ३ हप्ता थप कुर्नुपरेको थियो । सबै प्रकृया पुरा गरेर उनी ३ दिन अघि मात्र नेपाल फर्किइन् । हाल उनी विपी अस्पतालमा डाइलसिस गराइरहेकी छिन् । 'विदेशमा हुदा विरामी हुने वित्तिकै अस्पताल भर्नासमेत हुन पाइन, त्यसैले गर्दा धेरै गाह्रो भयो । अहिले घर परिवारका साथमा आफ्नै देशमा रहेको छु । मेरो उपचारमा परिवारसंगै साथीहरूले साथ दिदा गर्दा मेरो आत्मबल बढेको छ,’उनले भनिन्,‘यस रोगलाई पूर्ण रूपले निको पार्ने शक्ति पाएको छु । अर्काको भुमिमागएर दुःख गरी कमाएको रकम पनि सबै उपचारमा खर्च भयो । अब निको भएपछि आफ्नै भुमिमा केही गर्नेछु ।'

Ankita

समिटका पूर्व विद्यार्थी रहेकी राईको उपचारमा सहयोग जुटाउन प्रिन्सिपल रमेश दाहालले अभियानको अगुवाइ गरेका छन् । यसै क्रममा आज संकलन भएको ५१ हजार रूपैया उनको परिवारलाई अस्पतालमा नै भेटेर हस्तान्तरण गरिएको छ । हालसम्म उनको उपचारमा १० लाखभन्दा बढि खर्च भईसकेको छ । अब मृगौला प्रत्यारोपणको लागि परिवारले प्रकृया शुरु गरेको जनाएको छ । उनको परीवारमा बुवा उत्तम राई, आमा पुष्पा राई र बहिनी अस्मिता राई छन् ।

नेपालमा नै प्रत्यारोपण गर्दा पनि कम्तीमा ८ लाख खर्च लाग्छ भने भारतमा गरे २० देखि २५ लाखसम्म खर्च हुन्छ । प्रत्यारोपण पछि मृगौलाका विरामीको शरीरमा कृयाशिल नभएसम्म निरन्तर औषधी प्रयोग गर्नुपर्ने हुदा थप खर्च हुन्छ । त्यो समयमा औषधीमा नै मासिक रूपमा ६० देखि ८० हजारसम्म खर्च लाग्ने चिकित्सकहरु बताउँछन् । राईको उपचारको लागी सहयोग गर्न प्रभु बैक धरानमाबुबाउत्तम राईको खाता नं. ००४०००३५१ “U”मा रकम जम्मा गर्न सकिनेछ । उनको बारेमा जानकारीको लागि बुबाको नम्बर ९८४२०४१३०६ मा सम्पर्क गर्न सकिनेछ ।