इटहरी: गत जेष्ठ ६ गते राती पाँचथरको मिक्लाजुङ गाउँपालिका आरुबोटेमा दुई परिवारको ९ जनाको सामूहिक हत्या भएको थियो । उक्त हत्याकाण्डमा भागेर १४ बर्षीय बालिका सीता खजुम लिम्बू बच्न सफल भएकी थिइन् ।

उपचार पछि प्रदेश सरकारले उनलाई जिम्मा लिएको थियो । तिनै बालिका इटहरीमा रहेको शहीद स्मृति आवासीय विद्यालयमा अध्ययनको लागि भर्ना भएकी छिन् । इटहरी १९, भवानीपुरस्थित उक्त विद्यालयमा शनिबार एक कार्यक्रमको आयोजना गरी सीतालाई भर्ना गरिएको छ । विद्यालयका प्रधानाध्यापक शिबचन्द्र राईका अनुसार सीतालाई कक्षा ९ मा अध्ययन गर्ने गरी विद्यालयले अभिभावकत्व ग्रहण गरेको छ । ‘उनको बाबुआमा हामी नै हो,’प्रअ राईले भने ।

परिवार गुमाएको पीडा आलै रहेकोल आफूहरुले अभिभावकत्व ग्रहण गरेको प्रअ राईको भनाई छ । अहिले एक्लो महसुश हुन नदिनको लागि साथै विद्यालयमा परिवार पाउने भएकाले सीतालाई चाडै भर्ना गरिएको उनले बताइन् । सीता यसअघि पाँचथरमै मावलीघरमा बसेर स्थानीय स्कुलमा ९ कक्षा अध्ययन गर्दै आएकी थिईन् ।

जेष्ठ ६ गते पाँचथर मिक्लाजुङ आरुबोटेका बमबहादुर फियाकसहित उनको परिवारका चार जना र बमबहादुरका ज्वाइँ धनराज सेर्मासहित उनको परिवारका पाँचजनाको हत्या भएको थियो । उनीहरु सबैको हत्या भएको रात सीता भने भागेर जोगिएकी थिइन्, तर अभिभावक विहिन बनेकी थिईन् । विद्यालयमा भर्ना भएपछि सीता पनि खुशी भइन् ।

यो विद्यालयमा द्धन्द्ध पीडित, सीमान्तकृत, अति विपन्न, गरीब, र शहीदका छोराछोरी निःशुल्करुपमा अध्ययन गर्दै आएका छन् । हाल ५ सय ३० जना विद्यार्थीमध्ये ३ सय ३२ जना पीडित बालबालिका रहेको प्रअ राईले जानकारी दिए । उनका अनुसार यहाँ अध्ययन गर्ने बालबालिकालाई राज्यले खर्च व्यहोर्दै आएको छ भने सहयोगीहरुले पनि सहयोग गर्ने गरेका छन् ।