धरान:डेंगुको महामारी फैलिएर विद्यार्थीहरु विरामी हुन थालेपछि धरान ८ स्थित पुर्वाञ्चल इञ्जिनियरीङ क्याम्पसले आजदेखि ५ दिनलाई विदा दिएको छ ।

विद्यार्थीहरु धमाधम डेंगुको विरामी हुन थालेपछि त्रसित भएर क्याम्पस आउन छोडेका थिए । विद्यार्थी संगठनहरुले पनि पठनपाठन रोक्न आग्रह गरेपछि विभागीय प्रमुखहरुसँग राय लिएर शुक्रबारसम्मलाई पठनपाठन स्थगित गरिएको क्याम्पस प्रमुख ओम ढकालले जानकारी दिए । उनका अनुसार डेंगुको कारण विद्यार्थीहरु क्याम्पस आउनै छोडेपछि यो निर्णय लिन बाध्य भएको हो । क्याम्पस प्रशासन भने खुला नै रहने उनले बताए । ‘डेंगुले गर्दा विद्यार्थीहरु क्लासमा आउनै छोडे । आइतबार पनि ४, ५ जना मात्र क्लासमा भएपछि सबैको आग्रह र सल्लाहमा विदा दिइएको हो,’उनले भने ।

campus

करिब दुई सातादेखि धरान ८ तीनकुनेस्थित क्याम्पसमा अध्ययनरत विद्यार्थीहरुमा डेंगु ज्वरो देखिन थालेको हो । यहाँ १५ सयको हाराहारीमा विद्यार्थीहरु छन् । यस्तै, क्वार्टरमा बस्ने शिक्षक र कर्मचारी साथै परिवारको पनि हिसाब गर्दा २ हजारको संख्या पुग्छ । ती मध्ये ७० भन्दा बढी विद्यार्थीहरुमा डेंगु संक्रमण भइसकेको छ भने एक जना शिक्षक र कर्मचारी परिवारमा पनि डेंगु भएको छ । ‘सुनामी आएपछिको जस्तै अवस्था क्याम्पसको भयो । विद्यार्थीहरु आउन छोडेर सुनसान भएपछि विदा भएको हो,’उपप्राध्यापक रोहित दंगालले भने ।

अहिले क्याम्पस प्रशासन डेंगुको प्रकोप फैलिएकोप्रति गम्भीर बनेको छ । क्याम्पस प्रशासनले र्यापिड रेस्पोन्स टिम गठन गरेको छ । यो टिमले धरान उपमहानगरपालिका, चिकित्सक, स्वास्थ्य कार्यालयसँग समन्वय गरेर सरसफाईसँगै लामखुट्टेको लार्भा नष्ट गर्ने अभियान शुरु गरेको उपप्राध्यापक एवं टिमका सदस्यसमेत रहेका दंगालले जानकारी दिए । ‘विद्यार्थीहरुमा मनोवैज्ञानिक त्रास फैलिएको छ, त्यो हटाउन र सरसफाई लार्भा नष्ट गर्ने लगायतको अभियान चलाएका छौं,’दंगालले भने ।