पथरी: मोरङ पथरीशनिश्चरे वडा नं ४ मा पनि डेंगु ज्वरोको विरामी भेटिएको छ ।

वडा नं ४ स्थित शान्तिचोकका अरुण कुमार राईमा डेंगु ज्वरोको संक्रमण भएको पुष्टि भएको हो । उनको विराटनगरको नोवेल अस्पतालमा उपचार भइरहेको छ । डेंगुको विरामी फेला परेपछि नगरको दैवी प्रकोप तथा महामारी रोग नियन्त्रणका लागि गठित र्यापिड रेस्पोन्स टिमले अनुगमन गरेको छ । नगर प्रमुख दिलिपकुमार राई, प्रमुख प्रशासकीय अधिकृत अम्बिकाप्रसाद धमला, रेस्पोन्स टिमका संयोजक एवं स्वास्थ्य संयोजक मुरारी आचार्य, डा.उमेश गुरागाईंसहितको टोलीले डेंगुका विरामी राईको परिवारलाई भेट गरेको छ ।

pathari-ma-dengu-(4)

टोलीले ग्रामिण वस्तीका रुपमा रहेको शान्ति चोक क्षेत्रको सरसफाईको अवस्थाका बारेमा अवलोकन गर्दै सफा पानी जम्ने ठाउँबाट पानी नष्ट गर्न तथा टायर, बट्टाहरुमा पानी जमेको भए पनि नष्ट गर्न सचेत गराएको छ । टोलीले पनि वट्टा, आरीमा जमेको अवस्थाको पानी नष्ट गरेको थियो । टोलीले मंगलबार पुनः जिल्ला स्वास्थ्य कार्यालय विराटनगर, नगरका सरोकारवाला संघसंस्थासहितको सहभागितामा वडा नम्वर १ को पथरी बजार क्षेत्रमा अनुगमन् गर्ने भएको स्वास्थ्य संयोजक आचार्यले बताए । एजिप्टाई जातको पोथी लामखुट्टेको टोकाइबाट सर्ने डेंगुले नगरमा गतबर्ष पनि २ जना विरामी भएका थिए ।