धरान: प्रदेश सरकारले धरानमा देखा परेको डेंगु रोगको प्रकोप एक साता भित्र नियन्त्रणमा लिन निर्देशन दिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयमा सरोकारवालाहरुसँग भएको बैठकमा प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले यस्तो निर्देशन दिएका हुन् । ‘मन्त्री ज्युले ७ दिन भित्रमा डेंगु नियन्त्रण गर्ने गरी जुट्न निर्देशन दिनुभएको छ,’बैठकमा सहभागी विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका सहायक अस्पताल निर्देशक डा.विकास साहले भने । बैठकमा सामाजिक विकास मन्त्री जिवन घिमिरे पनि सहभागी थिए । उनले पनि धरानबासीहरुको घरमा जम्मा भएको पानी सबै फाल्न लगाउने र त्यसको व्यवस्थापन गर्न पनि निर्देशन दिएका थिए ।

मुख्यमन्त्री शेरधन राईको पहलमा बैठक आयोजना भएको थियो । तर, मुख्यमन्त्री राई भने काम बिशेषले काठमाण्डौं जानुपरेपछि बैठकमा थिएनन् । उक्त बैठकमा प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक भोगेन्द्र डोटेलसँगै सुनसरी,झापा र मोरङका प्रजिअ सहभागी थिए । यस्तै, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका सहायक अस्पताल निर्देशक डा.विकास साह र र्यापिड रेस्पोन्स टिमका संयोजक डा.विकासराज खनाल पनि सहभागी थिए । सहायक अस्पताल निर्देशक डा.साह र डा.खनालले धरानमा डेंगुको अवस्था साथै नियन्त्रणको लागि अपनाउनुपर्ने उपायबारे जानकारी गराएका थिए ।