धरान: तेह्रथुमको मेन्छयायेम गाउँपालिका ३ स्थित श्रीजुंग स्वास्थ्य चौकीअन्र्तगतको गाउँघर क्लिनिक तथा खोप केन्द्रको लागि सेखिम्बामा जग्गा प्राप्ती भएको छ ।

स्थानीय लक्ष्मीप्रसाद लिम्बू र खेम लिम्बूले आफ्नो स्वर्गीय बुबाको नाममा स्वाथ्य चौकीलाई निःशुल्क जग्गा उपलब्ध गराएका हुन् । आफ्ना स्वर्गीय बुबा दिलकुमार हुक्पा चोङबाङ लिम्बूको नाममा उनीहरुले ८ आना(करिब १२ धुर) जग्गा प्रदान गरेका हुन् । यो जग्गा भाई लक्ष्मीको नाममा थियो । सबै प्रक्रिया पुरा गरेर लक्ष्मीप्रसादले स्वास्थ्य चौकीका प्रमुख दिपक पोखरेललाई जग्गाको धनीपुर्जा प्रदान गरेका थिए । ‘बुबा सामाजिक काम गर्न रुचाउनुहुन्थ्यो । केन्द्रलाई भवनको लागि जग्गा पनि चाहिएकोले बुबाको नाममा जग्गा दिन हामी दाजुभाईको सल्लाह मिल्यो,’दाजु खेमले भने ।

जग्गादाताका बुबा दिलकुमारको करिब करिब ७० बर्षको उमेरमा बैशाख १८ गते निधन भएको थियो । समाजसेवामा पनि रुचि राख्ने दिलकुमार स्थानीय विद्यालयको सञ्चालक समितिमा पनि रहेका शिक्षा क्षेत्रमा पनि सेवा पुर्याएका थिए । समाजसेवाप्रति उनको सक्रियतालाई बुझेर नै छोराहरुले स्मृतिमा खोप केन्द्रको लागि जग्गा दिएका हुन् ।

केन्द्रको लागि जग्गा प्राप्ती भएपछि स्वास्थ्य चौकीले भवन निर्माणको प्रक्रिया शुरु गरिसकेको छ । यो केन्द्रबाट सेखिम्बा गाउँको मात्र करिब ८० घर परिवारले प्रत्यक्ष सेवा पाउनेछन् । यस्तै, आसपासका गाउँघरका बासिन्दाले पनि यहाँबाट सेवा पाउने चौकीले जनाएको छ । ‘जग्गा पाएपछि चौकीले भवन निर्माणको प्रक्रिया पनि शुरु गरिसकेको छ,’हाल धरानमा बसोबास गरिरहेका खेमले भने ।