झापा: डेगु नियन्त्रण गर्न झापामा पनि बिभिन्न पालिकाहरुले अभियान सञ्चालन थालेका छन् । जस अनुरुप दमक नगरपालिकाले बुधबारबाट नै अभियान जारी राखेको छ ।

दमकका बिभिन्न स्थानमा लामखुट्टेका बासस्थान पत्ता लगाई लार्भा नष्ट गर्ने काम भएको नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ । यस्तै दिनैपिच्छेनै दमकको मुख्य राजमार्गमा पर्ने बिभिन्न ग्यारेजमा फालिएका टायरहरु जफत गर्ने काम पनि भइरहेको छ । टायरमा पानी जमेका कारण डेङ्गु सार्ने लामखुट्टेको लार्भा देखिएको स्वास्थ्य शाखा प्रमुख इन्द्र अर्यालले बताए । दमकमा मात्र दुई जनामा डेङगुका संक्रमण देखिएको दमक अस्पतालले जनाएको छ । सुनसरीको धरानमा महिनादिन देखिको डेंगुको प्रकोप अझै नियन्त्रणमा आउन नसकिरहेको अवस्थामा झापा दमकमा पनि डेंगु देखिएपछि नगरले अभियानलाई थप सशक्त पारेको छ ।

टायर राखेका ठाउँमा पानी जमेर डेगु सार्ने लामखुट्टेको लार्भा हुनसक्ने भएकोले नियन्त्रणका लागी अभियान थालीएको नगर प्रमुख रोमनाथ ओलीले बताए । डेंगुको सङ्क्रमणबाट गत वर्ष झापामा दुई जनाको मृत्यु भएको थियो । दुई हजार बढीमा यो रेगको सङ्क्रमण देखिएकोले रोगलाई पूर्णरुपमा नियन्त्रणमा ल्याउन निकै हम्मे हम्मे परेको थियो ।