पथरी:पथरीमा डेङ्गु रोगको संक्रमण देखिएपछि मोरङ्गको पथरी शनिश्चरेमा डेङ्गु बिरुद्धको बिषादी छर्कने काम(फगिङ्ग स्प्रे) गरिएको छ ।

विहिबार राती पथरी शनिश्चरे १० का वडा अध्यक्ष सागर राई, नगरका स्वास्थ्य संयोजक मुरारी आचार्य लगायतको सक्रियतामा वडा नम्बर १० मा फगिङ्ग गरिएको हो । वडा १० को केही भागमा फगिङ्गेको काम बाँकी रहेकाले चाडै ती क्षेत्रहरुमा समेत काम गरिने वडा अध्यक्ष राईले बताए । मोरङ्गको पथरी शनिश्चरेमा २ जनामा डेङ्गुको संक्रमण देखा परेता पनि ती व्यक्तिमा आयातीत संक्रमण रहेको स्वास्थ्य संयोजक आचार्यले बताए । यसका साथै डेङ्गु लगायत लामखुट्टेजन्य रोगबाट बच्नका लागि १० नम्वर वडाका १ सय विपन्न परिवारलाई झुल वितरण गरिएको छ ।

वडाध्यक्ष सागर राईको अगुवाईमा रकम संकलन गरी शुक्रबार १ सयजनालाई झुल वितरण गरिएको हो । जसमा वडाध्यक्ष राईले १० हजार, वडा सदस्य अनोज घिमिरेले ५ हजार तथा नगरको विजी हाउसका प्रोप्राइटर वीरवहादुर घिमिरेले १० हजार, कावेली कन्ट्रक्सनका भूवन थापाले १० हजार सहितको रकम सहयोग जुटेपछि झुल खरिद गरी वितरण गरिएको छ । अन्यसँग पनि सहयोग रकम संकलन हुँदै गरेको जनाउँदै वडाध्यक्ष राईले वडाका अन्य १ सय घर विपन्न परिवारलाई झुल वितरण गरिने बताए ।