दुहवी : सुनसरीको दुहबी नगरपालिकामा समेत डेंगुको विरामी भेटिएको छ ।

दुहबी नगरपालिकाकै अगाडी घर भएकी लता अग्रहरिलाई डेंगुको संक्रमण भेटिएको जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका दुहबी प्रमुख उचित नारायण शाहले जानकारी दिए । धरानमा डेंगुको बिरामी भेटिएपछि बिराटनगर, इनरुवा र अब दुहबीमा समेत विरामी भेटिन थालेको जनस्वास्थ्य प्रमुख उचित नारायण शाहले बताए । २ दिन देखि ज्वरो अधिक बढेपछि स्थानीय इजि केयर स्वास्थ्य सेवा प्रा.लीमा उपचार गर्ने क्रममा डेंगु रोगको संक्रमण फेला परेको र थप उपचारको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा रेफर गरिएको स्वास्थ्य संस्थाका संचालक आसिफ अन्सारीले जानकारी दिए ।

डेंगुको विरामी भेटिएपछि वडा कार्यालयहरुले डेंगुविरुद्धको सचेतना कार्यक्रमलाई अझै शसक्त तरिकाले सञ्चालनमा ल्याउने जनाएको छ । दुहबीको सम्पूर्ण वडामा डेंगुविरुद्धको सचेतना कार्यक्रम सञ्चालनमा ल्याएको दुहबी नगरपालिकाका प्रमुख बेद गच्छादरले बताए । रोगको बारेमा बिरामी र बिरामीका आफन्तले खुलेर जानकारी नगराउँदा संक्रमितको आशङ्का गरिएकाहरुको वास्तविकता यकिन हुन भने सकेको छैन ।

स्थानीयवासीले ज्वरो पश्चात उपचारका लागि बिरामीलाई धरान र विराटनगर पुर्याइएकाले सङ्क्रमण भएका रोगीको सङ्ख्या अधिक हुनसक्ने आङ्कलन गरे पनि जिल्ला जनस्वास्थ्य कार्यालय सुनसरीका दुहबी प्रमुख उचित नारायण शाहले भने आधिकारिक रूपमा दुहबीमा एक जनामा मात्र डेंगु सङ्क्रमण पाइएको बताए । नगरपालिकाले सचेतना सम्बन्धी विद्यालयस्तरमा सचेतना कार्यक्रम सञ्चालनको तयारी शुरु गर्दै प्रत्येक वडाका स्वयंसेविका, आमा समूह, संघसंस्थाका पदाधिकारी लगायतको उपस्थितिमा सावधानी र सचेतना सम्बन्धी अभिमुखीकरण कार्यक्रम आयोजना गर्ने तयारी गरि रहेको जनाएको छ ।

उता भने डेंगु संक्रमित बिरामीको आफन्तसंग सम्पर्क गर्दा अहिलेसम्म नगरपालिकाले कुनै किसिमको सहयोग र जनचेतनाको सामग्री उपलब्ध नगराएको र स्थलगत अनुगमनमा समेत चासो नदेखाएको भनेर आरोप लगाएका छन् ।