धरान: विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानलगायत चिकित्सा शिक्षा पढाई हुने सरकारी कलेजहरुले पोष्ट ग्राजुएट(एमडि/एमएस/एमडिएस)को सरकारी स्पोन्सर सिटमा मेरिटको आधारमा नै भर्ना लिनुपर्ने भएको छ ।

सर्वोच्च अदालतले सरकारी स्पोन्सर कोटाबारे परेको रिट निवेदनमा सरकारी मेकिडल कलेजहरुले मेरिट लिष्टको आधारमा नै सरकारी स्पोन्सर कोटामा भर्ना लिन आदेश दिएको हो । सर्वोच्चको आदेश पछि विपी प्रतिष्ठान, आइओएम, वीर अस्पताल(नाम्स), पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायतले मेरिटकै आधारमा विद्यार्थी भर्ना गर्नुपर्नेछ । यो शनिबार पोष्ट ग्राजुएटको प्रवेश परीक्षा लिने तयारी गरेको विपी प्रतिष्ठानले पनि सरकारी स्पोन्सर कोटामा मेरिटकै आधारमा भर्ना लिने निर्णय गरेको जनाएको छ । ‘पहिला सरकारी स्पोन्सर कोटाको क,ख,ग छुट्याएर विभिन्न निकायलाई प्राथमिकतामा राखिएको थियो, अब सर्वोच्चको आदेशपछि मेरिटै आधारमा स्पोन्सर कोटामा भर्ना हुन्छ,’प्रतिष्ठानका सहप्रवक्ता डा. अशोक ऐरले भने ।

यसअघि, प्रतिष्ठानलगायतमा अलग्गै व्यवस्था थियो । लोकसेवा आयोगबाट जागिर खाइरहेका चिकित्सक, डाक्टरहरुले सरकारी स्पोन्सर कोटामा पहिलो प्राथमिकता पाउथे । त्यसपछि, दोस्रो प्राथमिकतामा नेपाली सेना र प्रहरीमा जागिर खाइरहेका चिकित्सकहरुले प्राथमिकता पाउथे । त्यसपछि, अन्य सरकारी प्रतिष्ठान वा सरकारी अस्पतालका डाक्टरहरुले प्राथमिकता पाउथे । ‘अब यो कोटामा मेरिटबाटै भर्ना लिने भएपछि यो प्राथमिकताको आधारबाट हुने भर्ना विधि रहदैन,,’सहप्रवक्ता ऐरले भने ।