धरान : पित्त थैलीमा हुने पत्थरीका कारण क्यान्सर जस्तो घातक रोग हुन सक्छ । जुन क्यान्सर अन्य ठाँउको क्यान्सर भन्दा घातक हुन सक्छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका डाक्टर टेक नारायण यादवले, यस विषयमा बेलैमा सचेत हुन, शुक्रबार सुनसरी उद्योग वाणिज्य संघमा सम्पन्न स्वास्थ्य जनचेतना कार्यक्रममा बताए ।

मोटोपना भएका, चालिस वर्ष वरिपरीका, महिला तथा बच्चा जन्माउने उमेर समुहकालाई पित्त थैलीको पत्थरी हुने सम्भावना बढी हुन्छ । यसको लक्षणमा तल्लो पेट दुख्ने गर्दछ । ग्यासटिक र यसको लक्षण एउटै जस्तो हुने हुँदा धेरै विरामीहरु भ्रममा परिरहेको अवस्था छ । बेलैमा सचेत भएर भिडियो एक्सरेबाट यो समस्या सजिलै पत्ता लाग्ने र दुरपिन पद्धतीबाट अपरेशन गरेर एकै दिनमा घर फर्कन सकिने समेत वीपी अस्पतालका प्रा.डा. विक्रम प्रसाद श्रेष्ठले कार्यक्रमको समिक्षा गर्दै जानकारी गराए ।

रोग लागेर उपचार गर्नु भन्दा रोग नै लाग्न नदिनु निको भन्ने नाराको साथ संचालित कार्यक्रम धेरै महत्वपूर्ण भएको र यसलाई अझ प्रभावकारी बनाउनु सुनसरी उद्योग वाणिज्य संघले पहल गर्ने संघका नवनिर्वा्चित अध्यक्ष गिरिधारी सापकोटाले विचार व्यक्त गरे ।

स्वाथ्य जनचेतनामुलक कार्यक्रम प्रत्येक हप्ताको शुक्रबार सुनसरी उद्योग वाणिज्य संघ, धरान – १ मा बेलुकी ३ः४५ सम्पन्न हने गर्दछ । सुनसरी उद्योग वाणिज्य संघ, वीपी अस्पताल र कृति टेलिभिजनको आयोजनामा सम्पन्न हुने यस कार्यक्रममा प्रत्येक हप्ता फरक फरक रोगका विषयमा विशषज्ञ डाक्टरहरुद्वारा प्रस्तुत हुने गर्दछ । कार्यक्रममा ईच्छुक जो कोही सहभागी भएर आफ्नो जिज्ञासा पनि राख्न पाउनेछन् । शुक्रबार सम्पन्न कार्यक्रमलाई कृति टेलिभिजनबाट सोमबार प्रसारण समेत गर्ने गरेको छ ।

कार्यक्रममा सुनसरी उद्योग वाणिज्य संघका पदाधिकारी तथा स्वास्थ प्रति सचेत व्यक्तिहरुको सहभागिता रहेको थियो ।