इटहरी : उपप्रधानमन्त्री तथा रक्षामन्त्री इश्वर पोखरेलले देशले शैक्षिक वेरोजगार उत्पादन नगर्ने बताएको  छ।

मोरङको हात्तिमुढा स्थित मनमोहन स्मृति पोलिटेक्निकमा ९९ औ मनमोहन जन्म जयन्ति समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएको हो । मनमोहन स्मृति पोलिटेक्निकको अध्यक्ष समेत रहेका पोख्रेलले ७० प्रतिशत भन्दाबढि प्राविधिक र ब्यवसायिक शिक्षामा जोड दिइने प्रष्ट पारे । उनले सम्वृद्ध नेपाल, शुखी नेपाली नारा मात्र नभएर राष्ट्रिय आँकाक्षा भएकाले यसलाई पूरा गर्न शीप भएका दक्ष जनशक्ति उत्पादन गरिनु पर्नेमा जोड दिए । वीए, एमए पास गरेर वेरोजगार बस्नुपर्ने अवस्थाको अन्त्य हुनुपर्नेमा उपप्रधानमन्त्रीको जोड छ । उनले दक्षजनशक्ति उत्पादन गर्नमा मनमोहन स्मृति पोलिटेक्निकले योगदान वढाउनु पर्ने बताए ।

उपप्रधानमन्त्री पोखरेलले मनमोहन अधिकारी निष्ठाबाट कहिल्यै पनि अविचलित रहनुभएको स्मरण गरे । उनले मनमोहन अधिकारीलाई पूर्व प्रधानमन्त्री अर्थात ठूलो मान्छे भनिदिउन भन्ने कहिल्यै लाग्दैनथियो तर अशलमान्छेका रुपमा बुझिदिउन भन्ने लाग्थ्यो भन्नुभयो । मनमोहन अधिकारीको योगदान र सपनालाई बाँच्नेहरुले आँखामा सुरक्षित राख्न सक्नु पर्नेमा उनले जोड दिए । कार्यक्रमलाई संघीय सांसद धनश्याम खतिवडा, मध्यपश्चिम विश्वविद्यालयका भिसि उपेन्द्र कोइराला, प्रदेश नम्वर एकका मुख्यसचिव शुरेश अधिकारी, नेकपाका केन्द्रीय सदस्यहरु विनोद ढकाल, भगवती चौधरी, महेश रेग्मी, गोपी अछामीले सम्वोधन गरे ।

उनीहरुले नेपाली राजनीतिमा मनमोहन अधिकारीको योगदानको चर्चा गरे । पोलिटेक्निकका प्राचार्य डा. सुवासश्री पोखरेलले विद्यार्थीहरुलाई पोलिटेक्निकमा खुशि भएर पढ्न आग्रह गर्दै रोजगार बनाउने जिम्मा लिने प्रतिवद्धता जनाए । मनमोहन जन्मजयन्तीका अवसरमा मनमोहन पोलिटेक्निकमा भएको रक्तदान कार्यक्रममा ८४ जनाले रक्तदान गरे । जन्मजयन्तिकै अवसरमा पोलिटेक्निकको ५ दशमलव ५ हेक्टर जग्गामा वृक्षारोपण कार्यको समेत उपप्रधान एवं रक्षामन्त्री पोखरेलले शुभारम्भ गरे ।