धरान : स्व.देशहाङ्मा देवान (हाङ्गाम) स्मृति छात्रवृत्ति कोषले धरानको पब्लिक हाइस्कूल, धरान १२ मा विद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ ।

समाजसेवी भुवनकुमार हाङ्गामले आफ्नी जेठी श्रीमती स्व. देशहाङ्माको स्मृतिमा १ लाख ५० हजार रकमको कोष स्थापना गरेका छन् । देशहाङ्माको २०६६ सालमा ५१ वर्षको उमेरमा हृदयघाटबाट निधन भएको थियो । कोषबाट आएको व्याजबाट आएको १९ हजार रकमबाट विद्यालयले छनौट गरका २० जना जेहेन्दार विद्यार्थीहरुलाई ब्याग प्रदान गरिएको हो । कार्यक्रमका आयोजकहरुमा भुवनकुमार हाङ्गाम, देवीमाया ईस्वो हाङ्गाम, गोविन्द कुमार हाङ्गाम, विमला लावती हाङ्गाम, ईन्दिरा हाङ्गाम, शान्ती हाङ्गाम रहेका थिए ।

कार्यक्रममा कोषका अध्यक्ष भुवन कुमार हाङ्गामले पडाडि परेका तथा मेधावी विद्यार्थीहरुलाई पढाई प्रति प्रोत्साहन गर्न स्व. दशहाङ्मा देवानको स्मृतिमा कोषको स्थापना गरेको वताउनु भयो । आफ्नो छोराछोरीहरु पनि यसै विद्यालयबाट पढेर हाल छोरा गोविन्दले वीवीएस, छोरी ईन्दिरा आईटेक पढ्दै गरेको र छोरी शान्तीले र्की्र्तिपुबाट एमएड सकेर शहित स्मृति मावि धरानमा शिक्षण गर्दै आएको बताए । आफु जस्तै श्रमजिविका छोराछोरीहरुलाई पढाईप्रति प्रोत्साहित गर्नका लागि यसै विद्यालयमा छात्रवृत्ति कोषको स्थापना गरेको बताए ।

पब्लिक हाईस्कूलका प्रधानाध्यापक ईन्द्रमोहन झाले विद्यालयका अभिभावकहरुले विद्यालयलाई माया गरेर विभिन्न क्षेत्रबाट सहयोग गरेका हुनले विद्यालयले शैक्षिक गुणस्तर बृद्धि गर्न सहयोग पुगेको जानकारी गराउर्दै छात्रवृत्ति स्थापना गरेकोमा कोषका संस्थापकहरुलाई आभार ब्यक्त गरे । कार्यक्रममा मन्तव्यव व्यक्त गर्ने क्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरि बहादुर कार्की, धरान १२ नं. का वडाध्यक्ष टंक बहादुर राई लगायतले कोषका स्थापना गरेर शैक्षिक विकासका लागि गरेको राम्रो कामको प्रशंसा गरेका थिए ।

छात्रवृत्ति वितरणकार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, पूर्व विद्यार्थी संगठनहरु, विद्यालयका शिक्षक कर्मचारी, विद्यार्थी एवं विभिन्न संघ संस्थाका पदाधिकारीहरुको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रममा नेपाली संस्कार अनुसार असार १५ गते दहि चिउराको व्यवस्था गरिएको थियो ।