काठमाण्डौ : त्रिभुवन विश्वविद्यालय सेवा आयोगका पदाधिकारीहरू नै उत्तरपुस्तिका परीक्षणको अनियमिततामा प्रत्यक्ष संलग्न रहेको भेटिएको छ ।

संलग्नता देखिएपछि आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्य चिन्तामणि पोखरेल र सदस्यसचिवको भूमिकामा रहने प्रशासनिक प्रमुख परशुराम कोइरालाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

‘मैले कापी काटेर बुझाइसकेपछि फेरि त्रिभुवन विश्वविद्यालयको सेवा आयोगका कर्मचारी र पदाधिकारीले बोलाई थप्न लगाए,’ प्राध्यापक गोविन्दप्रसाद ढकालले अख्तियारमा बयानका क्रममा भनेका छन्, ‘सेवा आयोगका अध्यक्ष चैतन्य शर्मा, सदस्यसचिव परशुराम कोइराला र बच्चु भन्ने कर्मचारीले यसो गर्न लगाएका हुन् ।’

उनले कापी बुझाएपछि फेरि प्राप्तांक परिवर्तन गर्न लगाएको उल्लेख गर्दै भनेका छन्, ‘यी पार्टीका मानिस र यी विद्यार्थी युनियनका मानिस भएकाले नगरी हुँदैन भन्दै पछि नम्बर थप्न लगाएका हुन् ।’ उनले थपेको अंक आफ्नो विवेकको नभएको स्विकारेका छन् । –कान्तिपुर दैनिकबाट